‘इभी’ सवारी साधन दुर्घटनामा १७ जना घाइते

काठमाडौँ, असोज १२ । नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको कप्र०२००१ख ११२९ नम्बरको इभी गाडी आज बिहान वीरेन्द्रनगर नगरपालिका–११ ठुलो ब्युरेनीमा दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक भावेश रिमालका अनुसार, गाडी आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको थियो । दुर्घटनामा चालक सुर्खेत बराहताल गाउँपालिका-४ का ३८ वर्षीय हरि मल्लसहित जुम्ला चन्दननाथ नगरपालिका-१ का १८ वर्षीय दीपेन्द्र दमाई, जुम्ला सिंजा गाउँपालिका-५ का २८ वर्षीय महेन्द्र शाही, वीरेन्द्रनगर नगरपालिका-३ का ३८ वर्षीय लालबहादुर शाही, २७ वर्षीया लक्ष्मी कठायत, र वीरेन्द्रनगर-११ का ३८ वर्षीय नरेश शाही घाइते भएका छन्।

त्यसैगरी, अन्य घाइतेहरूमा लेकबेँसी नगरपालिका-६ का ३५ वर्षीय पर्शुराम घर्तीमगर, दैलेख दुल्लु नगरपालिका-६ का २३ वर्षीय शम्सेर खड्का, दुल्लु-११ कै ३० वर्षीया लक्ष्माण कार्की, जुम्ला सिंजा गाउँपालिका-३ का २४ वर्षीया राज्यलक्ष्मी हमाल, दैलेख दुल्लु नगरपालिका–१० का २६ वर्षीय गणेश योगी, कालीकोट पचाल झरना गाउँपालिका-३ का २२ वर्षीय रोशन विक, जुम्ला सिंजा गाउँपालिका-४ का २२ वर्षीय ऐन रोकाय, १६ वर्षीया रक्षा धिताल, वडा नं ५ की २२ वर्षीया विष्णु शाही, मुगु सोरु गाउँपालिका-९ का ३२ वर्षीय दिनेश शाही, र जुम्ला चन्दननाथ-१ का २१ वर्षीय श्री परियार रहेको प्रहरी उपरीक्षक रिमालले जानकारी दिनुभयो ।

घाइते सबैको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।