१२ केजी गाँजासहित दुई महिला पक्राउ

काठमाडौँ, असोज १२ । उदयपुरगढी गाउँपालिका-७ स्थित कमानबाट १२ केजी अवैध गाँजासहित दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका-१७ की ४० वर्षीया अस्मिता राम र ४५ वर्षीया लीलादेवी राम रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी केदारमान दोङका अनुसार, प्रहरी चौकी नेपालटारबाट खटिएको गस्ती टोलीले शनिबार नेपालटारस्थित कमान क्षेत्रमा गस्तीका क्रममा उनीहरूलाई गाँजासहित पक्राउ गरेको हो । उदयपुरगढीको पहाडी क्षेत्रबाट गाँजा खरिद गरी सिरहाको लहान हुँदै भारततर्फ लैजाने उद्देश्यले उनीहरूले गाँजा खरिद गरेर फर्कने क्रममा कमानमा प्रहरी गस्ती टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको दोङले बताउनुभयो । पक्राउ परेका दुई महिलालाई शनिबार राति नै जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखी थप अनुसन्धान सुरु गरिएको छ ।