विभिन्न कारागारबाट भागेका १२ कैदीबन्दी गोरखाबाट पक्राउ

काठमाडौँ, असोज १२ । हालैको जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट भागेका १२ जना कैदीबन्दी गोरखाबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार पक्राउ पर्नेमा कास्की कारागारका सात जना, केन्द्रीय कारागार जगन्नाथदेवलका तीन जना, तनहुँ कारागारका एक जना र बालसुधार गृह सानोठिमी, भक्तपुरबाट भागेका एक जना रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक भरतबहादुर विकले दिनुभएको जानकारी अनुसार पक्राउ परेका सबैलाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी सम्बन्धित कारागार तथा सुधार गृहमा पठाइसकिएको छ ।
पक्राउ पर्नेमा कास्की कारागारबाट भागेकाहरू, विक्रम नेपाली, तेन्जिङ रिग्देल लामा, छेवाङ रिजिन लामा, सोनाम ल्याल्जेन लामा, बाबुराम नेपाली, राजेश विश्वकर्मा सुनार र सोनामा दोर्जे लामा, केन्द्रीय कारागार जगन्नाथ देवलबाट भागेकाहरू: भरत ठकुरी, सुमन सुनदास र भुवन तामाङ, तनहुँ कारागारबाट भागेका, विशाल उपरकोटी र बालसुधार गृह सानोठिमी, भक्तपुरबाट भागेकी: सुस्मा मग्राती रहेका छन् ।
प्रहरी उपरीक्षक विकले पक्राउ परेकामध्ये अधिकांश गोरखा घर भएका र केही जिल्ला बाहिरका रहेको बताउनुभयो । उहाँका अनुसार प्रदर्शनका क्रममा भागेका अन्य कैदीबन्दीहरूको विस्तृत विवरण सङ्कलन भइरहेको र खोजी कार्य जारी छ ।