मानव छालाको डीएनएबाट पहिलो पटक भ्रूण तयार, प्रजनन विज्ञानमा नयाँ फड्को

वासिङ्टन । अमेरिकी वैज्ञानिकहरूले मानिसको छालाको डीएनए प्रयोग गरी प्रारम्भिक चरणका मानव भ्रूणहरू तयार पारेका छन् । यस प्रविधिले उमेर वा रोगका कारण हुने बाँझोपनलाई हटाउनुका साथै समलिङ्गी जोडीहरूलाई समेत आनुवंशिक रूपमा सम्बन्धित सन्तान जन्माउन मद्दत गर्न सक्नेछ ।
यद्यपि, यो विधिमा अझै धेरै सुधारको आवश्यकता छ । प्रजनन क्लिनिकहरूले यसलाई प्रयोग गर्नेबारे विचार गर्न कम्तिमा एक दशक लाग्न सक्नेछ । विज्ञहरूले यसलाई प्रभावशाली सफलता भनेका छन्, तर विज्ञानले के सम्भव बनाइरहेको छ भन्नेबारे सार्वजनिक रूपमा खुला छलफल हुनुपर्ने बताएका छन् ।
पहिले प्रजनन पुरुषको शुक्रकीट र महिलाको अण्डाको सरल कथा थियो । तिनीहरू मिलेर भ्रूण बनाउँथे र नौ महिनापछि बच्चा जन्मिन्थ्यो । अब वैज्ञानिकहरूले यस नियमलाई परिवर्तन गरिरहेका छन् । यो पछिल्लो प्रयोग मानव छालाबाट सुरु हुन्छ ।
ओरेगन हेल्थ एन्ड साइन्स युनिभर्सिटीको अनुसन्धान टोलीले मानिसको छालाको कोषबाट सम्पूर्ण आनुवंशिक कोड भएको केन्द्रक निकाल्छ । यसलाई आफ्ना आनुवंशिक निर्देशनहरू हटाइएको दाताको अण्डाभित्र राखिन्छ । अहिलेसम्म, यो प्रविधि सन् १९९६ मा जन्मिएको विश्वको पहिलो क्लोन स्तनधारी ‘डल्ली’ भेडा बनाउन प्रयोग गरिएको जस्तै छ ।
तर, यो अण्डा शुक्रकीटद्वारा निषेचित हुन तयार हुँदैन किनभने यसमा पहिले नै पूर्ण क्रोमोजोमहरू हुन्छन् । सामान्यतः, आमाबाबुबाट २३-२३ वटा डीएनएका बन्डलहरू (क्रोमोजोमहरू) प्राप्त गरी कुल ४६ वटा हुन्छन् । त्यसैले अर्को चरणमा अण्डालाई आफ्ना आधा क्रोमोजोमहरू त्याग्न लगाइन्छ, जसलाई अनुसन्धानकर्ताहरूले ‘माइटोमियोसिस’ नाम दिएका छन् (यो माइटोसिस र मेयोसिस, कोष विभाजनका दुई तरिकाको संयोजन हो) ।
नेचर कम्युनिकेसन्स जर्नलमा प्रकाशित अध्ययनले ८२ वटा कार्यक्षम अण्डाहरू बनाइएको देखाएको छ । ती अण्डाहरूलाई शुक्रकीटसँग निषेचित गरियो र केही भ्रूण विकासको प्रारम्भिक चरणमा पुगे । कुनै पनि ६ दिनको चरणभन्दा अगाडि विकसित भएनन् ।
“हामीले असम्भव मानिएको कुरा हासिल ग¥यौं,” ओरेगन हेल्थ एन्ड साइन्स युनिभर्सिटीको एम्ब्रियोनिक सेल एन्ड जीन थेरापी सेन्टरका निर्देशक प्रा. शौख्रत मितालीपोभले भन्नुभयो ।
यो प्रविधिमा अझै धेरै कमीकमजोरीहरू छन् । अण्डाले कुन क्रोमोजोमहरू त्याग्ने भन्ने अनियमित रूपमा छनोट गर्छ । रोगबाट बच्नका लागि प्रत्येक २३ प्रकारका क्रोमोजोमहरू मध्ये एक-एक हुनुपर्छ, तर यसमा केहीका दुई र केहीका शून्य हुन्छन् । यसको सफलता दर पनि कम (करिब ९%) छ । क्रोमोजोमहरूले आफ्नो डीएनए पुनर्व्यवस्थित गर्ने महत्त्वपूर्ण प्रक्रिया, जसलाई क्रसिङ ओभर भनिन्छ, त्यो पनि छुटाउँछन् ।
“हामीले यसलाई सिद्ध बनाउनु पर्छ,” यस क्षेत्रका विश्व प्रसिद्ध अग्रदूत प्रा. मितालीपोभले भन्नुभयो, “अन्ततः, मलाई लाग्छ भविष्य त्यतै जानेछ किनभने बच्चा जन्माउन नसक्ने बिरामीहरूको संख्या बढ्दै गएको छ ।”
यो प्रविधि शरीर बाहिर शुक्रकीट र अण्डा बनाउने लक्ष्य राखेको ‘इन भिट्रो गामेटोजेनेसिस’ नामक बढ्दो क्षेत्रको हिस्सा हो । यो दृष्टिकोण हाल क्लिनिकल प्रयोग भन्दा वैज्ञानिक खोजको स्तरमा छ, तर यसको उद्देश्य आइभीएफ (इन भिट्रो फर्टिलाइजेसन) बाट फाइदा लिन नसक्ने जोडीहरूलाई मद्दत गर्नु हो, जससँग प्रयोग गर्न पर्याप्त शुक्रकीट वा अण्डा हुँदैन । यसले अब व्यवहार्य अण्डा नभएका वृद्धा महिलाहरू, पर्याप्त शुक्रकीट उत्पादन नगर्ने पुरुषहरू वा क्यान्सरको उपचारले गर्दा बाँझोपन भएका व्यक्तिहरूलाई मद्दत गर्न सक्छ ।
यो प्रविधिले पितृत्वका नियमहरूलाई पनि पुनः लेख्छ । आज वर्णन गरिएको प्रविधिमा महिलाको छालाका कोषहरू प्रयोग गर्नुपर्छ भन्ने छैन – पुरुषको पनि प्रयोग गर्न सकिन्छ । यसले समलिङ्गी जोडीहरूलाई दुवै साझेदारसँग आनुवंशिक रूपमा सम्बन्धित सन्तान जन्माउने ढोका खोल्छ । उदाहरणका लागि, पुरुष समलिङ्गी जोडीमा, एक पुरुषको छालाको प्रयोग अण्डा बनाउन र अर्को पुरुष साझेदारको शुक्रकीट प्रयोग गरेर त्यसलाई निषेचित गर्न सकिन्छ ।
“अण्डा वा शुक्रकीटको अभावका कारण लाखौं बाँझोपन भएका मानिसहरूलाई आशा प्रदान गर्नुका साथै, यस विधिले समलिङ्गी जोडीहरूलाई दुवै साझेदारसँग आनुवंशिक रूपमा सम्बन्धित बच्चा जन्माउने सम्भावना प्रदान गर्दछ,” ओरेगन हेल्थ एन्ड साइन्स युनिभर्सिटीकी प्रा. पाउला अमाटोले भन्नुभयो ।
हल्ल विश्वविद्यालयका प्रजनन चिकित्साका प्राध्यापक रोजर स्टर्मीले यो विज्ञान “महत्त्वपूर्ण” र “प्रभावशाली” रहेको बताउनुभयो । उहाँले थप्नुभयो, “यस्तो अनुसन्धानले प्रजनन अनुसन्धानमा नयाँ प्रगतिबारे सार्वजनिक रूपमा निरन्तर खुला संवादको महत्त्वलाई जोड दिन्छ । यस्ता सफलताहरूले हामीलाई जवाफदेहिता सुनिश्चित गर्न र सार्वजनिक विश्वास निर्माण गर्न बलियो शासनको आवश्यकतामा जोड दिन्छ ।”
एडिनबर्ग विश्वविद्यालयको एमआरसी सेन्टर फर रिप्रोडक्टिभ हेल्थका उपनिर्देशक प्रा. रिचर्ड एन्डरसनले नयाँ अण्डा उत्पादन गर्ने क्षमता “एक ठूलो प्रगति” हुने बताउनुभयो । उहाँले भन्नुभयो, “धेरै महत्त्वपूर्ण सुरक्षा चिन्ताहरू हुनेछन्, तर यो अध्ययन धेरै महिलाहरूलाई आफ्नै आनुवंशिक सन्तान प्राप्त गर्न मद्दत गर्ने दिशामा एक कदम हो ।” (बीबीसी)