सुदूरपश्चिममा फोहरबाटै आम्दानी र रोजगारी : एक सयभन्दा बढीले पाए राेजगारी
कैलाली, ३१ जेठ । फोहरलाई केवल दुर्गन्ध र समस्याका रूपमा मात्र हेर्ने पुरानो दृष्टिकोण सुदूरपश्चिमका स्थानीय तहमा फेरिन थालेको छ । कैलाली र कञ्चनपुरका विभिन्न नगरपालिकाले फोहरलाई व्यवस्थापन मात्र गरेका छैनन्, यसलाई आम्दानी र रोजगारीको माध्यम समेत बनाएका छन् ।
अहिले कैलालीको गोदावरी र धनगढी तथा कञ्चनपुरको शुक्लाफाँटामा फोहर व्यवस्थापन केन्द्रहरू सञ्चालनमा आएसँगै सयौँ स्थानीयले घरपायक रोजगारी पाएका छन् भने नगरपालिकाहरूले लाखौँ राजस्व संकलन गर्न थालेका छन् ।
गोदावरी नगरपालिका–४ का जङ्गबहादुर चौधरी विगत नौ वर्षदेखि फोहर व्यवस्थापनको क्षेत्रमा कार्यरत छन् । सुरुमा नगरपालिकाको सफाइ कर्मचारीका रूपमा काम गरेका उहाँ अहिले एकीकृत फोहर व्यवस्थापन केन्द्रमा काम गर्छन् । फोहर छुट्याउने र व्यवस्थापन गर्ने कामबाट उनले मासिक १७ हजार रुपैयाँसम्म आम्दानी गरिरहेका छन् ।
उनी मात्र होइन, गोदावरी–१० की प्रियङ्का जोराइलाले पनि यहीँ रोजगारी पाएकी छिन् । पहिले कपडा पसलमा काम गर्ने उनी अहिले फोहर व्यवस्थापन केन्द्रमा काम गरेर मासिक १६ हजार कमाउँछिन् । गोदावरीको यस केन्द्रमा मात्रै करिब १०० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
एशियाली विकास बैंक (एडिबी) को सहयोगमा क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत सुदूरपश्चिमका विभिन्न ठाउँमा आधुनिक फोहर व्यवस्थापन संरचनाहरू निर्माण गरिएका छन् । गोदावरीको चौकीडाँडामा करिब रु १ अर्बको लागतमा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा छ ।
निजी क्षेत्रको कम्पनी ‘स्वच्छ वातावरण प्रालि’ ले यसको व्यवस्थापन गरिरहेको छ । कम्पनीका सञ्चालक गोविन्द रावलका अनुसार सङ्कलित फोहरमध्ये ७० प्रतिशत पुनः प्रयोग (Recycle) गरिन्छ । कुहिने फोहरबाट जैविक मल उत्पादन गरिन्छ भने अन्य सामग्री बिक्रीका लागि पठाइन्छ । यस केन्द्रको मासिक आम्दानी करिब रु २६ लाखसम्म पुग्ने गरेको छ ।
कैलालीको धनगढी उपमहानगरपालिकाले फोहर व्यवस्थापनलाई ठेक्का प्रणालीमार्फत आम्दानीको स्रोत बनाएको छ । उपमहानगरपालिकाले ‘नन्दादेवी सेवा केन्द्र’ लाई ५ वर्षका लागि ७२ लाख रुपैयाँमा ठेक्का दिएको छ । उपमहानगरका वातावरण शाखा प्रमुख अशोक अवस्थीका अनुसार ठेक्का रकममा प्रत्येक वर्ष १० प्रतिशत वृद्धि हुने सम्झौता गरिएको छ । यता कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पनि ५ बिघा क्षेत्रफलमा व्यवस्थापन केन्द्र सञ्चालन गरिएको छ । दैनिक ३ देखि ६ टनसम्म फोहर सङ्कलन हुने यस केन्द्रको आयु करिब ४० वर्षसम्म हुने अनुमान गरिएको छ ।
नगर प्रमुख रणबहादुर महराका अनुसार केन्द्र सञ्चालनमा आएपछि जथाभाबी फोहर फाल्ने प्रवृत्ति हटेको र स्थानीयले ट्याक्टर चालकदेखि फोहर छुट्याउने कामसम्ममा रोजगारी पाएका छन् ।
फोहरबाट आम्दानी र रोजगारीको ढोका खुले पनि केही गम्भीर चुनौतीहरू अझै कायम छन् । फोहरसँग प्रत्यक्ष काम गर्ने मजदुरहरूका लागि स्वास्थ्य जोखिम र दुर्गन्ध मुख्य समस्याका रूपमा देखिएको छ ।
त्यस्तै, कतिपय संवेदनशील वन क्षेत्रमा अझै पनि फोहर थुपार्ने अभ्यास पूर्ण रूपमा नहटेकाले यसको दीर्घकालीन र वैज्ञानिक समाधानका लागि नीतिगत कडाइ र स्थानीय चेतनाको आवश्यकता रहेको विज्ञहरू बताउँछन् ।