काठमाडौँको टोखामा एक पुरूषकाे हत्या, दुई जना पक्राउ

काठमाडौँ, २४ असोज । काठमाडौँको टोखा नगरपालिका–२ चण्डेश्वरीमा एक पुरूषकाे हत्या भएकाे छ ।

वादविवादको क्रममा फलामको रड प्रहार गर्दा पाँचथर घर भएका ४० वर्षीय राम लिम्बूमाथि रड प्रहार गर्दा गम्भीर घाइते भएका उनकाे ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।

हत्या अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने उदयपुर घर भएका २७ वर्षीय गणेश लामा र सिन्धुली घर भएका ४० वर्षीय खुपबहादुर तामाङ रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो ।

प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनीहरूलाई गए राति पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको प्रवक्ता भट्टराईले बताउनुभयो ।