जेनजी प्रदर्शनमा प्रहरीकाे हतियार लुट्ने युवक लागुऔषध कारोबार गर्दै गर्दा पक्राउ
झापा, २६ असाेज । झापा प्रहरीले लागुऔषध कारोबारमा संलग्न जेनजी प्रदर्शनका क्रममा प्रहरीकाे हतियार लुट्ने युवकसहित आठ जनालाई पक्राउ गरेको छ।
झापाको दमक नगरपालिका-३ वेलडाँगीस्थित भूटानी शरणार्थी शिविरमा लागुऔषध खैरो हेरोइन बिक्रीवितरणमा संलग्न आठ जनालाई प्रहरीले पक्राउ गरेका हुन् ।
साजन थापाको घरबाट लुकाएको अवस्थाबाट सात ग्राम ८०० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ।
पक्राउ परेकामध्ये आदित्य लिम्बूले हतियार लुटेको र निश्चल पोर्तेल हिरासतबाट भागेका थिए।
इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले गोप्य सूचनाका आधारमा दमक-३ स्थित बेलडाँगी भूटानी शिविर सेक्टर नं ३ हट नं ३५३ का साजन थापाको घरमा छापा मार्दा उक्त घरको कोठामा चस्माको खाली खोलमा लुकाई राखिएको अवस्थामा खैरो हेरोइन फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।
उनका अनुसार बरामद गरिएको लागुऔषधको तौल प्लास्टिकबाहेक सात ग्राम ८०० मिलिग्राम छ । प्रहरीले लागुऔषध बिक्रीवितरणमा संलग्न भएको आरोपमा सोही शिविरका २७ वर्षीय साजन थापा, इलाम चुलाचुली गाउँपालिका–३ का ३२ वर्षीय दीपेश तामाङ, ३२ वर्षीय सनम राई, दमक–३ का १८ वर्षीय आदित्य लिम्बू, १९ वर्षीय पवीन विश्वकर्मा, २५ वर्षीय सुचन दर्जी, बेलडाँगी भुटानी शरणार्थी शिविर सेक्टर बी२ हट नं १९१–१९२ का २५ वर्षीय विजय माझी र मोरङ मिक्लाजुङ गाउँपालिका–८ का २० वर्षीय निश्चल पोर्तेललाई पक्राउ गरेको छ ।
दमक–३ का आदित्य लिम्बूले जेनजी प्रदर्शनका क्रममा प्रहरी कार्यालय दमकबाट प्रहरीको हतियार लुट्ने कार्यमा संलग्न रहेको पाइएको प्रहरी नायब उपरीक्षक खड्काले बताए । त्यस्तै, मिक्लाजुङ–८ का निश्चल पोर्तेल इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङमा लागुऔषध मुद्दामा अनुसन्धानका क्रममा रहेकामा गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा हिरासतबाट भागेका फरार कैदी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।