पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ : सुन तस्करी र सङ्गठित अपराधमा संलग्नताको आरोप
काठमाडौँ, २६ असोज । पूर्वसभामुख कृष्णबहादुर महरालाई आज नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पक्राउ गरेको छ । महरालाई सुन बेचबिखन गरी आपराधिक समूह बनाई सङ्गठित रूपमा लाभ लिएको अभियोगमा पक्राउ गरिएको सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक तथा सूचना अधिकारी शिवकुमार श्रेष्ठद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिअनुसार, २०७९ पुस १० गते दुबईबाट नेपाल आएका चिनियाँ नागरिक ली हानसोङले दुईवटा सुटकेसभित्र ७३ बट्टामा रहेको ७३० वटा इलेक्ट्रिक सिगरेट अवैध रूपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल ल्याउँदै गर्दा जफत भएको थियो। उक्त सिगरेटभित्र लुकाइएको सुन बेचबिखन गरी महराले लाभ लिएको आरोप छ ।
सीआईबीका अनुसार, उक्त सुन त्रिभुवन अन्तर्राष्ट्रिय भन्सारको स्टोरमा राखिएको थियो। सोही कार्यालयका नायब सुब्बा रेवन्त खड्कासहितको संलग्नतामा नेपाल सरकारको गोदामबाट उक्त सुनसहितको सिगरेटमा रहेको करिब आठ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबरको सुन बेचबिखन गरी आपराधिक समूह बनाई सङ्गठित रूपमा लाभ लिएको पाइएको छ । “भन्सार ऐन, २०६४ तथा आपराधिक लाभ र सङ्गठित अपराधमा संलग्न महरालाई पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको छ,” विज्ञप्तिमा भनिएको छ । यस घटनाले नेपालमा सुन तस्करी र सङ्गठित अपराधमा उच्च पदस्थ व्यक्तिहरूको संलग्नताको विषयलाई पुनः चर्चामा ल्याएको छ ।