यस वर्षको भाइटीका कात्तिक ६ गते, ११ः३९ बजे उत्तम साइत
काठमाडौँ, २८ असोज। यस वर्षको तिहारमा भाइटीकाको उत्तम साइत कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे निर्धारण गरिएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज यो साइत सार्वजनिक गरेको हो।
समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार, कात्तिक ६ गते बिहीबार मध्याह्नकालमा टीका लगाउन कुनै बाधा नपर्ने भए पनि विशेष साइत खोज्नेहरूका लागि धनु लग्न, कन्या नवमांश, चर बेला र अभिजित् योग तथा विजय मुहूर्तको शुभ साइत दिइएको हो। समितिका सदस्य प्रा. देवमणि भट्टराईले “राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ। सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या छैन” भनी स्पष्ट पारे।
यमपञ्चक र अन्य पर्वहरूको तालिका:
-
कात्तिक १ गते (शनिबार): यमपञ्चकको सुरुवात, यमदीप दान, धन त्रयोदशी र धनतेरस पर्व।
-
कात्तिक २ गते (आइतबार): काग तिहार र धनवन्तरी जयन्ती।
-
कात्तिक ३ गते (सोमबार): बिहान नरक स्नानसहित कुकुर तिहार, बेलुकी लक्ष्मीपूजा र दीपमालिका। (दिउँसो ०२ः५२ बजेसम्म कात्तिक कृष्ण चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले सायंकालमा लक्ष्मीपूजा गरिने)
-
कात्तिक ४ गते (मंगलबार): औँसी तिथिमा गरिने स्नान, दान (बिहान)। दिउँसो ०४ः२९ बजेसम्म औँसी तिथि।
-
कात्तिक ५ गते (बुधबार): गाई, गोरु र आत्म (म्ह) पूजा (नेवार समुदायमा विशेष)। यसै दिनदेखि नेपाल संवत् ११४६ प्रारम्भ हुन्छ।
-
कात्तिक ६ गते (बिहीबार): भाइटीका (भाइपूजा वा किजापूजा), मध्याह्नकालमा टीका लगाउन सकिने।
समितिले शास्त्रीय ग्रन्थमा उल्लेखित ‘भ्रातृपूजा’ शब्दले दाजुभाइ दुवैलाई बुझाउने र भाइटीका भनिए पनि ज्येष्ठताको क्रमानुसार दाजुभाइलाई टीका लगाउनु शास्त्रसम्मत हुने जनाएको छ।
प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने यमपञ्चकमा यमदीप दानको विशेष महत्त्व छ। यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ। यस अवसरमा काग र कुकुरलाई यमदूतका रूपमा मीठा परिकार खुवाएर खुसी बनाउने परम्परा पनि छ, जसले यमलोकमा सहयोग गर्ने विश्वास गरिन्छ।