यस वर्ष तिहारमा राष्ट्र बैंकले सुनका असर्फी बिक्री नगर्ने, चाँदीका सिक्का मात्र उपलब्ध हुने
काठमाडौं, २८ असोज। यसपालिको धनतेरसमा सर्वसाधारणले नेपाल राष्ट्र बैंकबाट सुनका असर्फी खरिद गर्न नपाउने भएका छन्। केन्द्रीय बैंकले नयाँ सुनका असर्फी नछापेकाले सर्वसाधारणलाई वितरण गर्न नसक्ने भएको हो।
टक्सार महाशाखा प्रमुख प्रतिभा अधिकारीका अनुसार, विगतका वर्षहरूमा जस्तो यसपटक सुनका असर्फी बिक्री गरिने छैन। यद्यपि, चाँदीका सिक्का भने बिक्री गरिने र त्यसका लागि धनतेरस कुर्नु नपर्ने उनले जानकारी दिइन्।
“केन्द्रीय बैंकले ४ प्रकारका चाँदीका सिक्का बिक्री गरिरहेको छ,” अधिकारीले भनिन्, “सुनका असर्फी नभएकाले यस वर्ष बिक्री नगरिने भएको हो।”
सुनका असर्फी छाप्नका लागि केन्द्रीय बैंकको सञ्चालक समितिले निर्णय गर्नुपर्ने हुन्छ। तर, यसपालि तिहार नजिकिँदै गर्दा पनि सञ्चालक समितिले कुनै निर्णय नगरेकाले नयाँ असर्फी छपाइ तथा बिक्री नहुने निश्चित भएको हो।
पछिल्लो समय विश्वबजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ र बजारमा सुनको माग बढे पनि आपूर्तिमा कमी देखिएको छ। विश्वभरका अधिकांश केन्द्रीय बैंकले सुनलाई सञ्चितिका रूपमा कायम राखिरहँदा आपूर्तिमा कमी आएको हो। मंगलबार नेपाली बजारमा सुनको भाउ प्रतितोला २ लाख ४८ हजार रुपैयाँ नाघेको छ।
गत वर्षको धनतेरसमा केन्द्रीय बैंकले सर्वसाधारणलाई करिब ११ किलो सुन बिक्री गरेको थियो। टक्सार महाशाखाका अनुसार, यमपञ्चक सुरु हुनुभन्दा अघिल्लो दिन अर्थात् धनतेरसमा ११.३ किलो सुन र १७१.५ किलो चाँदी बिक्री भएको थियो। त्यसक्रममा २.५ ग्रामका ४ हजार ५ सय २० थान सुनका असर्फी बिक्री भएका थिए।