गोकर्णेश्वरबाट पेस्तोल र हतकडीसहित दुई जना पक्राउ
काठमाडौँ, असोज २९ । नेपाल प्रहरीले गोकर्णेश्वरबाट पेस्तोल र हतकडीसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँअन्तर्गतको प्रहरी प्रभाग गोकर्णबाट खटिएको टोलीले गोकर्णेश्वर नगरपालिका–३, गोकर्ण बस्नेत गाउँस्थित एक घरबाट उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-५, सूर्यकोटका २७ वर्षीय राजन भुजेल र सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१ का २६ वर्षीय उत्तम भुजेल रहेका छन् । राजन भुजेल भक्तपुर बस्दै आएका थिए भने उत्तम भुजेल काठमाडौँको गोकर्णेश्वरमा बस्दै आएका थिए ।
पक्राउ परेका दुवैलाई हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो ।
