पूर्वसभामुख महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
काठमाडौँ, असोज २९ । जिल्ला अदालत काठमाडौँले सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले तत्काल प्राप्त प्रमाणबाट सुन तस्करीमा महराको संलग्नता देखिएको ठहर गर्दै पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।
जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक श्रेष्ठका अनुसार, अदालतले महरालाई सुन्धारास्थित जगननाथ देवलमा पठाउन आदेश दिएको छ । असोज २७ गते महराविरुद्ध मुद्दा दर्ता गरिएको थियो । जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख रामहरि काफ्लेका अनुसार, महराविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रुपियाँ बिगो र तीन वर्षभन्दा बढी कैद सजायको मागदाबी गरिएको छ । मंगलबारदेखि थुनछेक बहस सुरु भएको थियो ।
पूर्वसभामुख महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको सुन विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोपमा असोज २६ गते पक्राउ गरेको थियो ।
