कैलालीको जानकी गाउँपालिकाका वडा अध्यक्षसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, ३१ असाेज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको जानकी गाउँपालिका–९ का वडा अध्यक्ष खकेन्द्र भण्डारीसहित आठ जनाविरुद्ध सामाजिक सुरक्षा भत्ता वितरणमा व्यापक अनियमितता गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

आयोगका अनुसार, वडा सचिव प्रेमबहादुर बुढा, कार्यालय सहयोगी सोनम कठरिया, वडा सदस्य कल्पना खड्का, सुनकोसा सार्की, बिजयबहादुर रावल, शेरबहादुर विश्वकर्मा, खरिदार पूर्णबहादुर विष्ट र वडा अध्यक्ष भण्डारीले मिलेर ६८३ जना लाभग्राहीका नाममा झुट्टा अभिलेख बनाई करिब ७३ लाख ३७ हजार ६२७ रुपैयाँ अपचलन गरेको पाइएको हो।

अख्तियारको अनुसन्धानले मृत व्यक्तिको नाममा समेत सामाजिक सुरक्षा भत्ता वितरण गरिएको, एउटै नागरिकता नम्बर प्रयोग गरी दोहोरो भत्ता लिने अभिलेख तयार गरिएको र नवीकरण नै नभएका लाभग्राहीका नाममा रकम निकालिएको खुलासा गरेको छ।

राष्ट्रिय विधिविज्ञान प्रयोगशालाको परीक्षणबाट वडा सचिव बुढाले लाभग्राहीका नाममा आफैंले ४७९ वटा औँठाछाप लगाएको र कार्यालय सहयोगी कठरियाले २०४ वटा औँठाछाप नक्कली रूपमा प्रयोग गरेको पुष्टि भएको आयोगले जनाएको छ।

मृत्युदर्ता भएका व्यक्तिका नाममा समेत नवीकरण गरी बैंक खातामा रकम पठाइएको र त्यसबापतका भरपाईमा वडा अध्यक्ष भण्डारी र अन्य जनप्रतिनिधिले प्रमाणित हस्ताक्षर गरेको पाइएको छ।