फूल लिन बारीमै व्यापारी पुगेपछि किसान उत्साहित
 
                              काठमाडौँ, कार्तिक १ । तिहारको सँघारमा मखमली र सयपत्रीका मालाको मूल्य वृद्धि भएको छ । व्यापारीहरू फूल लिन किसानको घरमै पुग्न थालेपछि फूलको मूल्य बढेको हो । भक्तपुरको सूर्यविनायक नगरपालिका-७ गुण्डुदेखि चाँगुनारायण नगरपालिका-९ ताथलीसम्मका किसानले व्यापारी घरमै आएर फूल किन्न थालेपछि राम्रो मूल्य पाउनुभएको छ । यसपालिको तिहार आइतबारदेखि सुरु हुँदैछ । आजैदेखि तिहारको धनतेरस सुरु भएपछि बजारमा उपभोक्ताको भीड बढेको छ । भीड बढेसँगै फूल र मालाको मूल्यवृद्धि भएपछि उपभोक्ता भने मर्कामा पर्नुभएको छ ।
व्यापारीहरू बजारमा एउटा मखमलीको माला ८० रुपियाँमा बिक्री गरिरहेका छन् । गुण्डुका किसानले शुक्रबारसम्म मखमली फूलको प्रतिमाला २२ देखि २५ रुपियाँ सम्ममा बिक्री गरेकामा आजदेखि किसानले प्रतिमाला ३० देखि ३५ मा बिक्री गरिरहनुभएको छ । गुण्डुका पुष्प व्यवसायी रामेश्वर बस्नेतले आजदेखि आफूले किसानसँग मखमली फूलको प्रतिमाला ३० देखि ३५ रुपियाँमा किनेको बताउनुभयो । सयौँ वर्षदेखि पुस्तान्तरण हुँदै मखमली फूल र मालाको उत्पादन तथा व्यापार गर्दै आउनुभएका चाँगुनारायण–९ ताथलीका वनमालाले पनि मखमलीको प्रतिमाला ३० रुपियाँमा बिक्री गरेको बताउनुभयो ।
भक्तपुरको गुण्डुमा पछिल्लो १५ वर्षयता फूल तथा माला बिक्री गर्दै आउनुभएकी मीना नगरकोटीले तिहार आएसँगै फूल र मालाको मूल्य बढेको बताउनुभयो । व्यापारी र बिचौलिया नै प्रतिस्पर्धामा मूल्य बढाएर किसानको घरघरबाट फूलमाला उठाउन थालेको उहाँको भनाइ छ ।स्थानीय उर्मिला नगरकोटीले यतिखेर फूल र मालाको व्यापारबाटै एउटा परिवारले रु एक लाखदेखि तीन लाखसम्म आम्दानी गरेको बताउनुहुन्छ । उहाँका अनुसार गुण्डुबाट मात्रै एक वर्षमा पाँच करोडभन्दा बढीको फूल माला उत्पादन तथा बिक्री हुने गरेको छ ।
स्थानीय अनिता बस्नेतले यस वर्ष आफ्नो साढे दुई रोपनी जग्गामा गरेको फूलखेतीबाट रु तीन लाखको आम्दानी गरेको बताउनुभयो । सयपत्री फूललाई स्थानीयले मुठा बनाएर बिक्री गर्ने गरेका छन् । चार–पाँचवटा सयपत्री फूलको मुठा पारेर एक मुठाको रु २० देखि रु २५ सम्ममा बिक्री हुने गरेको उहाँले बताउनुभयो । सयपत्री फूललाई पाथी तथा ढ्वाङमा भरेर पनि बिक्री गरिन्छ । ढ्वाङमा करिब तीन पाथीभन्दा बढी हुन्छ । हाल एक ढ्वाङको मूल्य सात सय रुपियाँ सम्ममा बिक्री भइरहेको छ । यहाँबाट एकै घरबाट ३० हजारदेखि तीन लाख रुपियाँसम्मको सयपत्री फूल बिक्री गर्ने गरेका छन् ।
मध्यपुरथिमि नगरपालिका-५ राधेराधेस्थित पूजा पसल सञ्चालक कमलनाथ पौडेलले सयपत्री फूल किलोको ४५० रुपियाँमा आज बिक्री गरिरहेको बताउँदै मखमली फूलको माला ७० रुपियाँमा बिक्री गरेको बताउनुहुन्छ ।
यस वर्ष लामो झरी र बर्सातका कारण सयपत्री फूल मरेर उत्पादन नै नष्ट भएपछि सयपत्री फूल महँगो भएको पुष्प व्यवसायी रामेश्वर बासीले बताउनुभयो । उहाँले टनेलबाहिर खुला रूपमा गरिएका सबै फूलखेती नष्ट भएको र टनेलमा लगाइएको फूल बजारमा आएकाले फूलको मूल्यवृद्धि भएको बताउनुभयो । व्यापारीले सयपत्री फूलको माला भने लम्बाइको साइजअनुसार प्रतिगोटा रु १५० देखि ८०० सम्ममा बिक्री गरेको उहाँ बताउनुहुन्छ ।
 
                     
                 
				
			 
				
			 
				
			 
				
			 
				
			 
				
			 
				
			 
				
			 
				
			 
				
			 
				
			 
				
			