पूर्वसचिव डा. संगीता मिश्रविरुद्ध अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर

काठमाडौं, २ कात्तिक। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसचिव डा. संगीता मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

केही साताअघि ‘जेन-जी’ को सरकारमा स्वास्थ्यमन्त्री बन्ने चर्चामा रहेकी मिश्रविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दाको फाइल पेस गरेको हो।

डा. मिश्र स्वास्थ्य सचिवको आकांक्षी पनि थिइन्। सरकारले उनको साटो डा. विकास देवकोटालाई सचिव बनाएपछि उनी बिदामा बसेकी थिइन्। ‘जेन-जी’ आन्दोलनपछि नयाँ सरकार गठन भएसँगै उनी मन्त्रालय जान थालेकी थिइन्। स्वास्थ्यमन्त्रीको रूपमा आफ्नो नाम समेत चर्चामा आउन थालेपछि उनले राजीनामा दिएकी थिइन्।

स्वास्थ्यमन्त्रीको रूपमा डा. मिश्रको नाम स्वाभाविक रूपमा चर्चामा आउन थालेपछि अख्तियारका पदाधिकारीहरूले प्रधानमन्त्री सुशीला कार्की निकट संयन्त्रलाई ‘उनीमाथिको अनुसन्धान अन्तिम चरणमा पुगेको र केही दिनमै भ्रष्टाचारको आरोपपत्र दर्ता हुन सक्ने’ जानकारी गराएका थिए। त्यसपछि मिश्रको नाम एकाएक रोकिएको थियो।

अख्तियारले स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा गरेको खरिदको विषयसँग सम्बन्धित फाइलमा उनीमाथि भ्रष्टाचार मुद्दा पेस गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *