सरकारको आम्दानीभन्दा खर्च १ खर्ब ११ अर्बले बढी, विकास बजेट खुम्चियो

काठमाडौं, २ कात्तिक । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (साउन–असोज) मै सरकारको आम्दानीभन्दा खर्च माथि पुगेको छ।

अर्कोतर्फ, चालु प्रकृतिको खर्च विस्तार हुँदा विकास बजेट खुम्चिन पुगेको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाउँछ।

असोज मसान्तसम्म सरकारले ३ खर्ब ६४ अर्ब ५८ करोड रुपैयाँ बजेट खर्च गरेको छ। यस अवधिमा आम्दानी (राजस्व, अनुदान र अन्य) भने २ खर्ब ५३ अर्ब १८ करोड रुपैयाँ मात्र भएको देखिन्छ। तीन महिनामै सरकारको आम्दानी र खर्चका बीचमा १ खर्ब ११ अर्ब रुपैयाँ बराबरको खाडल रहेको देखिएको छ। जसले गर्दा सरकारले ऋण लिएर खर्चको जोहो गर्नुपर्ने अवस्था आएको छ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार असोजसम्म भएको कुल बजेट खर्च लक्ष्यको १८.५६ प्रतिशत हो। चालु आवमा सरकारले १९ खर्ब ६४ अर्ब ४१ करोड रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ। यसमध्ये चालु खर्च असोजसम्म २ खर्ब ५६ अर्ब ८० करोड रुपैयाँ बराबर भएको छ, जुन लक्ष्यको २१.७५ प्रतिशत हो। यस आवमा ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ बराबर चालु खर्चको लक्ष्य छ।

पुँजीगत खर्च भने तीन महिनामा १९ अर्ब १८ करोड रुपैयाँ मात्र भएको छ, जुन लक्ष्यको ४.७ प्रतिशत मात्र हो। यस वर्ष सरकारले ४ खर्ब ८ अर्ब ८८ करोड रुपैयाँ पुँजीगत खर्च गर्ने लक्ष्य राखेको छ।

गत आवको यसै अवधिसँग तुलना गर्दा चालु खर्च विस्तार भएको छ भने पुँजीगत खर्च खुम्चिएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार अघिल्लो वर्ष असोज मसान्तसम्म कुल बजेट खर्च ३ खर्ब २९ अर्ब रुपैयाँ बराबर भएको थियो। जसमा चालु खर्च २ खर्ब २९ अर्ब र पुँजीगत खर्च २९ अर्ब ३७ करोड रुपैयाँ खर्च भएको थियो।

अर्थ मन्त्रालयका अनुसार यस वर्ष असोजसम्म २ खर्ब ५१ अर्ब १८ करोड रुपैयाँ मात्र राजस्व संकलन भएको छ। जुन लक्ष्यको ७८.१२ प्रतिशत मात्र हो। यस वर्ष कुल १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य लिइएको छ। यसमध्ये असोजसम्म ३ खर्ब २१ अर्ब ५३ करोड संकलन गर्ने लक्ष्य थियो।