नेप्से दोहोरो अंकले बढ्यो, कारोबार रकम घट्यो

काठमाडौं, २ असाेज । तिहार पूर्वको अन्तिम कारोबार दिन नेप्से परिसूचक १६.६७ अंकले बढेकाे छ ।

नेप्से परिसूचक बढेर यसदिन २५०३.८५ विन्दुमा पुगेको छ। पछिल्ला तीन कारोबार दिन निरन्तर घटेको बजारमा आइतबार दोहोरो अंकले वृद्धि देखिएको हो।

यस दिन सेन्सेटिभ इण्डेक्स २.३१० अंक बढ्दा फ्लोट इण्डेक्स ०.९८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७२ अंक बढेको छ।

नेप्से बढे पनि यस दिन कारोबार रकम भने घटेको छ। आइतबार कारोबारमा आएका २४९ कम्पनीको ६१ लाख ९९ हजार ९२९ कित्ता शेयर २ अर्ब ७९ करोड ११ लाख रुपैयाँमा खरिद बिक्री भएको छ। अघिल्लो कारोबार दिन (गत बिहीबार) बजारमा ७६ लाख ४३ हजार कित्ता शेयर ३ अर्ब २७ करोड ५४ हजार रुपैयाँ बराबरमा खरिदबिक्री भएको थियो।

यस दिन आत्मनिर्भर लघुवित्तको शेयरमूल्य सर्वाधिक १० प्रतिशत बढेको छ। हिमालयन पावर र भगवती हाईड्रोपावर कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा धेरै बढेको छ। त्यसैगरी, हिमालय ८०–२० को इकाई मूल्य ६.१० प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल रिइन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २८ करोड १० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन हिमालयन डिस्ट्रिलरी कम्पनीको २५ करोड २६ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।

आज कारोबारमा आएका १३ उपसमूह मध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन ‘अन्य’ उपसमूहको सूचक सर्वाधिक १.१६ प्रतिशतले बढेको छ।
बैंकिङ्ग र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको छ। यद्यपि, ‘अन्य’ उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.२१ प्रतिशत घटेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *