राजस्व क्षेत्रको प्रगति

आन्तरिक राजस्व कार्यालय भद्रपुरबाट लक्ष्यको १६.९० प्रतिशत प्रगति

काठमाडौँ, कार्तिक ४ । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालू आर्थिक वर्ष २०८२/०८३ को पहिलो तीन महिनामा ७५ करोड २७ लाख ४४ हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ। यो सङ्कलन चालू आर्थिक वर्षको वार्षिक लक्ष्यको १६.९० प्रतिशत हो।

कार्यालयले चालू आर्थिक वर्षमा कुल ४ अर्ब ४५ करोड ५० लाख रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको प्रमुख कर अधिकृत गोपालबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार, पहिलो त्रैमासिकमा ८७ करोड १० लाख २८ हजार रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा ८६.४२ प्रतिशत अर्थात् ७५ करोड २७ लाख ४४ हजार राजस्व सङ्कलन भएको छ।

यस तीन महिनाको अवधिमा आन्तरिक राजस्व कार्यालय भद्रपुरले आयकरबाट २७ करोड २६ लाख ७५ हजार रुपियाँ, मूल्य अभिवृद्धि करबापत ३१ करोड ९ लाख २४ हजार रुपियाँ  र अन्तःशुल्कबापत १८ करोड ६९ लाख ५२ हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्ष २०८१/०८२ को पहिलो त्रैमासिकमा ६९ करोड २८ लाख ५७ हजार रुपियाँ  राजस्व सङ्कलन भएको थियो।

राजस्व सङ्कलनको लक्ष्य हासिल गर्न कार्यालयले हालको परिस्थितिलाई मध्यनजर गर्दै करदातालाई अत्यधिक दबाब नहुने गरी निरन्तर बजार अनुगमन र निगरानी गरिरहेको प्रमुख कर अधिकृत थापाले बताउनुभयो । साथै, लाभग्राही-केन्द्रित व्यावहारिक कर शिक्षा पनि प्रदान गरिने उहाँले जानकारी दिनुभयो ।