जेनजी आन्दोलनका बेला हितेन्द्रदेव शाक्यको घरमाचोरी गर्ने भारतीय नागरिक जेल चलान

काठमाडौं, ४ कात्तिक । जेनजी आन्दोलनको मौकामा विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको घरमा चोरी गरेको आरोपमा समातिएका भारतीय नागरिक कारागार चलान भएका छन् ।

ललितपुर महानगरपालिका–११ ढटल मार्गस्थित शाक्यको घरमा चोरीको आरोपमा समातिएका भारतीय नागरिक १८ वर्षीय सरोज आलमलाइ कारागार चलान गरिएकाे हाे ।

भारतको बेतिया जिल्लाका आलमलाई अदालतले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएपछि कारागार पठाइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता चक्रराज जोशीले बताए ।

उनीसँगै पक्राउ परेका अन्य तीन जनालाई भने धरौटीमा छाड्न आदेश भएको थियो । आदेश भएकाहरूमा चोरी गरेको आरोपमा काभ्रेको रोशी गाउँपालिका–१ खहरेका २५ वर्षीय फुर्साङ लामा, बाराको जितपुर सिमरा उपमहानगरपालिका–२३ का २२ वर्षीय सहजाद मिया मंसुरी र रौतहटको चन्द्रनिगाहापुर नगरपालिका–१ का २८ वर्षीय मनिष सुनार छन् ।

पक्राउ परेका मध्ये लामालाई ६० हजार र बाँकी दुई जनालाई जनही ३०/३० हजार धरौटीमा छाड्न आदेश भएको थियो । उनीहरू धरौटी बुझाएर छुटेका छन् ।