२० वर्षअघिको हत्याका अभियुक्त म्याग्दीबाट पक्राउ

काठमाडौँ, कार्तिक ९ ।  म्याग्दीमा २० वर्षअघि भएको हत्या घटनामा संलग्न एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । २०६२ असोज ६ गते बेनी नगरपालिका-६, माझखेतका कर्णबहादुर घर्ती क्षेत्रीको हत्यामा संलग्न सोही ठाउँका ४३ वर्षीय ठहरबहादुर घर्ती क्षेत्रीलाई प्रहरीले घरबाटै पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले घटना भएकै राति फरार भएका ठहरबहादुरलाई कात्तिक १ गते पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेका ठहरबहादुर नाताले मृतक घर्तीका भाइ हुन् ।

प्रहरीको बयानअनुसार, अभियुक्त घर्तीले घरमा सुतिरहेका कर्णबहादुरलाई दाउराले हानेर हत्या गरेको र उहाँकी श्रीमतीलाई समेत दाउराले हानेर गम्भीर घाइते बनाई गरगहना लुटेर भारततर्फ भागेको स्वीकार गरेका छन् । घटनापछि अभियुक्त घर्ती पाँच वर्ष भारतको मुम्बईमा बसेका थिए । त्यसपछि पोखरा आएर खाजा पसल सञ्चालन गर्नुका साथै देशका विभिन्न ठाउँमा ज्यामी र मिस्त्रीको काम गरी लुकीछिपी घर आउने-जाने गरेको पाइएको छ । प्रहरी नायब उपरीक्षक थापाका अनुसार घर्तीलाई मुलुकी अपराधसंहिता २०७४ बमोजिम ज्यानसम्बन्धी कसुर मुद्दामा जिल्ला अदालतबाट १० दिनको म्याद अनुमति लिएर अनुसन्धान भइरहेको छ ।

अभियुक्त घर्ती क्षेत्री यसअघि पनि जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका व्यक्ति हुन् । वि. सं २०५९ पुसमा जबरजस्ती करणी अभियोगमा पुर्पक्षका लागि कारागार चलान भएकामा २०६० चैत ७ गते तत्कालीन विद्रोही माओवादीले गरेको बेनी आक्रमणका क्रममा कारागारबाट भागेर फरार भएका थिए । जिल्ला अदालत म्याग्दीले २०६६ जेठ १६ गते घर्ती क्षेत्रीलाई जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजायको फैसला गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *