नेप्सेमा उच्च वृद्धि ६२ अंकले बढ्यो परिसूचक, साढे ४ अर्बको कारोबार
 
                              काठमाडौँ, ११ कात्तिक । साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक उच्च अंकले बढेको छ । अघिल्लो कारोबार दिन आइतबार सामान्य अंकले बढेको नेप्से, यस दिन भने दोहोरो अंकमा वृद्धि भएको हो ।
मंगलबार नेप्से परिसूचक ६२.२९ अंक बढेर २५७१.३४ विन्दुमा पुगेको छ । यसैगरी, सेन्सेटिभ इण्डेक्स ११.९७ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ४.८६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.३४ अंकले बढेको छ ।
परिसूचकसँगै यस दिन कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ । गत आइतबार २ अर्ब ६६ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१४ स्टकको ४७ हजार ९४ पटकको कारोबारमा ४ अर्ब ५७ करोड ३९ लाख ४३ हजार रुपैयाँ बराबरको ९२ लाख ४३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
यस दिन तीनवटा कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । न्यादी हाइड्रोपावर, बुटवल पावर कम्पनी र एक्सेल डेभलपमेन्ट बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । त्यस्तै, राधी विद्युत कम्पनीको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने लुम्बिनी विकास बैंकको शेयरमूल्य करिब साढे ९ प्रतिशतले वृद्धि भएको छ । कारोबारमा आएका कम्पनीमध्ये हिमालयन पावर पार्टनरको शेयरमूल्य भने सर्वाधिक ६.३६ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन हिमालयन पावर पार्टनर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २४ करोड ९४ लाख ६० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी, यूनियन हाइड्रोपावरको कारोबार रकम २३ करोड रुपैयाँ नाघेको छ भने राधी विद्युत कम्पनीको करिब २२ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।
यस दिन १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहको परिसूचक घटेको छ । विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ४.४७ प्रतिशतले बढेको छ । वित्त, जलविद्युत, लगानी र जीवन बीमा उपसमूहको परिसूचक पनि ३ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । यस्तै, होटल तथा पर्यटन, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक साढे २ प्रतिशतभन्दा बढीले बढेको छ । यस दिन व्यापार उपसमूहको परिसूचक भने करिब १ प्रतिशतले घटेको हो ।
 
                     
                 
				
			 
				
			 
				
			 
				
			 
				
			 
				
			 
				
			 
				
			 
				
			 
				
			 
				
			 
				
			