अदालतमा तोडफोड र आगजनी गर्नेमाथि कारबाहीको माग गर्दै सर्वोच्चले प्रहरीमा जाहेरी दिने
काठमाडौँ, ११ कात्तिक । सर्वोच्च अदालतले देशभरका अदालतमा भएको तोडफोड र क्षतिमा संलग्नहरूलाई कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिने निर्णय गरेको छ । गत आइतबार बसेको सबै न्यायाधीशहरूको पूर्ण बैठक (फूल कोर्ट) ले यो निर्णय गरेको हो ।
आइतबारको फूलकोर्टको बैठकले सर्वोच्चसहित देशभरका अदालतमा आगजनी र क्षति गर्नेहरूलाई कारबाहीको मागसहित कानूनी उपचार खोज्नुपर्ने निर्णय गरेको थियो । जाहेरी दिने काममा न्यायाधीश नभई सर्वोच्च अदालत प्रशासनका उच्च अधिकारीहरू संलग्न हुनेछन् । सम्भवतः मुख्यरजिष्ट्रार वा रजिष्ट्रारहरूको नामबाट जाहेरी पेश हुनेछ ।
जेन–जी आन्दोलनमा भएको दमनको भोलिपल्ट देशव्यापी रूपमा भएको तोडफोड र आगजनीका कारण रामशाहपथस्थित सर्वोच्च अदालत आगजनीले ध्वस्त भएको थियो । करिब तीन दिनसम्मको आगोले अदालतमा विचाराधीन करिब २० हजार मुद्दाका फाइल जलेका छन् भने फैसला भइसकेका एक लाख ९७ हजार फाइल नष्ट भएका छन् ।
आगजनीले न्यायाधीश, कर्मचारीले प्रयोग गरेका ५० भन्दा बढी चारपाङ्ग्रे सवारीसाधन जलेर नष्ट भएका छन् । त्यसक्रममा सर्वोच्च अदालत परिसरमा रहेका करिब डेढ सयभन्दा बढी मोटरसाइकल जलेका छन् । अदालतमा आएका सेवाग्राही र कानून व्यवसायीका केही गाडी र मोटरसाइकल पनि जलेको अनुमान छ ।