कुटपिटबाट लहानमा एक महिलाको मृत्यु, चार पक्राउ

काठमाडौँ, कार्तिक ११ ।  सिरहाको लहान नगरपालिका-५, खुट्टीखोला नजिकै पर्तीटोलमा पसलबाट सामान चोरी गरेको निहुँमा भएको कुटपिटका कारण एक महिलाको ज्यान गएको छ । आज बिहान कुटपिटबाट घाइते भएकी स्थानीय मो. सदिक मियाँकी करिब ५० वर्षीया श्रीमती नुरजहाँ खातुनको मृत्यु भएको हो । कुटपिटबाट घाइते भएकी खातुनलाई स्थानीयले उद्धार गरी लहानस्थित रामकुमार शारदा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल पुर्‍याएका थिए । तर, चिकित्सकले उनलाई मृत घोषणा गरे ।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार, मृतकको शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ । कुटपिटमा संलग्न रहेको आरोपमा तीन महिलासहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिलिइएको छ ।

मृतक नुरजहाँ खातुनले खुट्टी खोलाको किनारमा छठ पूजाको घाट नजिकै खुद्रा किराना पसल सञ्चालन गर्दै आएकी थिइन् ।  स्थानीयका अनुसार, आज एक युवकले पसलबाट सामान चोरी गरेको भन्दै खातुनले ती युवकका हजुरबालाई गुनासो गरेकी थिइन् । त्यसपछि ‘मेरो नातिलाई चोरको आरोप लगाउने’ भन्दै युवकका परिवारका सदस्यहरूले खातुनलाई निर्घात कुटपिट गरेको जनाइएको छ ।

प्रहरीले घटनाको विस्तृत अनुसन्धान भइरहेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *