मुस्ताङमा हिमपातले प्रभावित पर्यटकको उपचारमा सशस्त्र प्रहरी परिचालन

काठमाडौँ, १२ कात्तिक । मुस्ताङ भ्रमणमा पुगेका आन्तरिक पर्यटक अविरल हिमपातबाट प्रभावित बनेपछि उनीहरूको स्वास्थ्योपचारका लागि सशस्त्र प्रहरी बलको टोली खटिएको छ ।

आज बिहानैदेखि सशस्त्र प्रहरीको टोलीले मुक्तिनाथ मन्दिर प्रवेशद्वारमा स्वास्थ्य शिविर सञ्चालन गरी करिब दुई सय ५० जनाको स्वास्थ्य परीक्षण र औषधि वितरण गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

स्वास्थ्य शिविरमा सशस्त्र प्रहरी बल, नेपाल नं ३३ गुल्मको टोली खटिएको थियो । त्यस क्षेत्रमा हिमपात भएको र एक्कासि चिसो बढेका कारण धेरै पर्यटकमा टाउको दुख्ने, वाकवाकी लाग्ने तथा श्वासप्रश्वासमा समस्या देखिएको छ । उनीहरूको समस्या पहिचान गरी सामान्य प्राथमिक उपचारसमेत गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

यसैबीच, सशस्त्र प्रहरीले मुक्तिनाथ मन्दिर जाने बाटो र मन्दिर परिसरको हिउँ पन्छाएर पर्यटकलाई सहजीकरण गरेको छ । हिउँ पन्छाउनका लागि आज बिहानैदेखि सशस्त्र प्रहरीको टोली परिचालित भएको थियो । बाटोमा जमेको हिउँ पन्छाएपछि मुक्तिनाथ दर्शनमा सहजता भएको जनाइएको छ ।