नेप्सेमा सामान्य करेक्सन: ५ अंक घट्यो परिसूचक, साढे ५ अर्बको कारोबार

काठमाडौँ, १२ कात्तिक । पछिल्ला तीन कारोबार दिनदेखि लगातार बढिरहेको नेप्से परिसूचक बुधबार सामान्य करेक्सन भई घटेर बन्द भएको छ । नेप्से परिसूचक बढेको मौकामा अल्पकालीन लगानीकर्ताहरूले नाफा सुरक्षित गर्दा यस दिन बजारमा सामान्य गिरावट आएको हो ।

बुधबार नेप्से परिसूचक ५.१७ अंक घटेर २५६६.१६ विन्दुमा झरेको छ । यसैगरी, सेन्सेटिभ इण्डेक्स १.५६ अंक, फ्लोट इण्डेक्स ०.५७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४६ अंकले घटेको छ ।

नेप्से घटे पनि यस दिन कारोबार रकममा भने वृद्धि भएको छ । अघिल्लो कारोबार दिन मंगलबार ४ अर्ब ५७ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२१ स्टकको ५० हजार ४८७ पटकको कारोबारमा ५ अर्ब ४५ करोड ९७ लाख ६७ हजार रुपैयाँ बराबरको १ करोड १५ लाख १ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

यस दिन दुईवटा कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । खानी खोला हाइड्रोपावर र उपकार लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । त्यस्तै, मानुषी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ भने हिमालयन पावर पार्टनरको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । यस दिन ज्योति विकास बैंक बण्ड २०८७ को मूल्य भने सर्वाधिक ५.६६ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन यूनियन हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २३ करोड ६५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कारोबार रकम २३ करोड रुपैयाँ नाघेको छ भने बुटवल पावर कम्पनीको साढे २२ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ ।

१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ । होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक २.१५ प्रतिशतले बढेको छ भने व्यापार उपसमूहको परिसूचक २ प्रतिशतले वृद्धि भएको छ । कारोबारमा आएको अन्य उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.२० प्रतिशतले घटेको छ ।