कोशी प्रदेश प्रमुख समक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेस
काठमाडौँ, कार्तिक १३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ वार्षिक प्रतिवेदन आज कोशी प्रदेशका माननीय प्रदेश प्रमुख पर्शुराम खापुङज्यूसमक्ष बुझाइएको छ । नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आयोगको इटहरी कार्यालयका प्रमुख श्री खगेन्द्रप्रसाद रिजालले माननीय प्रदेश प्रमुख खापुङलाई आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो ।
प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख खापुङले आम नेपाली नागरिकको चाहना भ्रष्टाचार नियन्त्रण, सुशासन कायम, विकास निर्माण र समृद्धि तथा स्वदेशमा रोजगारी उपलब्ध हुनुपर्ने बताउनुभयो । उहाँले आयोगलाई थप बलियो बनाई अनुसन्धानको काम कारबाहीलाई अझ सक्षम, प्रबल र प्रभावकारी बनाउन जनताको सहयोग र राज्यले आवश्यक व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । प्रदेश प्रमुख खापुङले आयोगलाई भ्रष्टाचार नियन्त्रण गर्ने काममा संवैधानिक व्यवस्थाले मार्ग निर्देशन गरेको विचार व्यक्त गर्नुभयो ।
सो अवसरमा आयोगका इटहरी कार्यालयका प्रमुख रिजालले उक्त आर्थिक वर्षमा आयोगका कार्यालयमा दर्ता भएका एवं जिम्मेवारी सरेका गरी कुल २ हजार ३३६ उजुरीमध्ये १ हजार ९३५ फछ्र्यौट भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार, कोशी प्रदेशअन्तर्गत सङ्घीय कार्यालयका ९०१, प्रदेश सरकारका ४८९ र स्थानीय तहका १ हजार ९०४ गरी कुल ३ हजार २९४ वटा उजुरी रहेका छन् । प्रदेशमा वन तथा वातावरण क्षेत्रका उजुरी अन्यको तुलनामा सबैभन्दा धेरै २४.४९ प्रतिशत रहेको रिजालज्यूले जानकारी दिनुभयो ।