एमाले महाधिवेशन: मंसिर १३ गते देशभर एकैपटक प्रतिनिधि चयन हुने

काठमाडौं, १४ कात्तिक । नेकपा एमालेले आगामी मंसिर १३ गते देशभर एकै पटक महाधिवेशन प्रतिनिधि चयन गर्ने भएको छ । गुण्डुमा बसेको सचिवालय बैठकले यो निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयाे ।

उहाँका अनुसार प्रत्येक १२ सय पार्टी सदस्य बराबर एक जना महाधिवेशन प्रतिनिधि छानिनेछन् । प्रतिनिधि चयनमा एक तिहाइ महिला प्रतिनिधि अनिवार्य गरिनुका साथै ४० वर्षभन्दा मुनिका युवाका लागि पनि आरक्षण छुट्याइएको छ ।

प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट कम्तीमा एक जना युवा प्रतिनिधि अनिवार्य गरिने उपमहासचिव ज्ञवालीले बताउनुभयाे । एमालेको ११ औं महाधिवेशन काठमाडौंमा मंसिर २७ देखि २९ गतेसम्म हुनेछ । यस महाधिवेशनमा करिब २१०० प्रतिनिधि सहभागी हुनेछन् । उपमहासचिव ज्ञवालीका अनुसार पार्टीका ६ लाख ६७ हजार ६३० संगठित सदस्यहरूमध्येबाट प्रतिनिधि चुनिनेछन् ।

प्रतिनिधि चयनको मापदण्ड र अनुपात:

  • महाधिवेशन मिति: मंसिर २७–२९ (काठमाडौं)

  • प्रतिनिधि चयन: मंसिर १३ गते

  • विवरण बुझाउने समयसीमा: मंसिर १५ गतेभित्र

प्रतिनिधि संख्याको अनुमानित वितरण:

  • प्रतिनिधिसभा निर्वाचन क्षेत्र: प्रति १२०० सदस्यबाट २ खुल्ला, १ महिला, त्यसपछि १ युवा (४० वर्ष मुनि) । त्यसपछि प्रति ८०० सदस्यबाट १ प्रतिनिधि (महिला) । दोस्रो र तेस्रो खुल्ला, चौथो महिला ।

  • दलित: प्रति ५०० सदस्यबाट १ प्रतिनिधि ।

  • ट्रेड युनियन: प्रदेशबाट २ र ५ गरी ७ जना प्रतिनिधि ।

  • जनसङ्गठन: ५ जना, महासङ्घबाट ७ जना ।

  • प्रदेश कमिटी: ३:२ (३ खुल्ला, २ महिला) ।

  • विभाग र कार्यालय: १/१ जना ।

  • प्रवास: महादेश अनुसार ५ जना (३ खुल्ला, २ महिला) ।

पदेन प्रतिनिधि:

  • केन्द्रीय कमिटी: ३५४ जना

  • अनुशासन आयोग: २९ जना

  • लेखा आयोग: ३० जना

  • निर्वाचन आयोग: २५ जना

  • सल्लाहकार परिषद्: २५ जना

  • जम्मा पदेन प्रतिनिधि: ४६४ जना

६,६७,६३० सदस्यमध्येबाट चुनिएका प्रतिनिधिहरूको अनुमानित संख्या:

  • प्रदेशबाट: ४५ जना

  • प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट: करिब ९७० जना

  • विशेष जिल्लाबाट: ४७ जना

  • दलित कोटाबाट: ८१ जना

  • ट्रेड युनियनबाट: ४९ जना

  • प्रवासबाट: ३० जना

  • केन्द्रीय विभाग र कार्यालयबाट: ३३ जना

  • जनसङ्गठनबाट: १२७ जना

जम्मा अनुमानित प्रतिनिधि: १८५६ जना, जसमा ५ प्रतिशत मनोनयन गरी कुल २१०० जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन् ।