छोराले प्रहार गरेको धारिलो हतियारबाट बुबाको मृत्यु : आमा घाइते
काठमाडौँ, कार्तिक १६ । गुल्मीको मालिका गाउँपालिकामा छोराले धारिलो हतियार प्रहार गरी बाबुको हत्या गरेका छन् । मालिका-३ म्यालका २३ वर्षीय भोटबहादुर विकले शनिबार ५२ वर्षीय बाबु धनबहादुर विकको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारूले जानकारी दिनुभयो । घटनामा भोटबहादुरले आफ्नी ४९ वर्षीया आमा दिलमाया विकलाई समेत धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका छन् । सूचना अधिकारी सारूका अनुसार, बाबु धनबहादुरको घटनास्थलमै मृत्यु भएको थियो भने आमा दिलमायाको टाउकोमा गम्भीर चोट लागेको छ ।
दिलमायाको गुल्मी अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि प्रादेशिक अस्पताल बुटवल पठाइएको प्रहरीले जनाएको छ। घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट प्रहरी निरीक्षक रेवन्त सेनको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।
घटनामा संलग्न भनिएका छोरा भोटबहादुर विकको मानसिक सन्तुलन ठीक नभएको बताइएको छ । विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
