नेप्सेमा दोहोरो अंकको वृद्धि, ९ अर्ब २० करोड बढीको कारोबार
काठमाडाैं, १६ कात्तिक । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ । गत साताको अन्तिम कारोबार दिन पनि बढेर बन्द भएको नेप्सेले यस दिन सोही क्रमलाई निरन्तरता दिएको हो ।
आज नेप्से परिसूचक ३०.७५ अंक बढेर २६३१.१४ विन्दुमा पुगेको छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ४.४१ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.२० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२३ अंक बढेको छ ।
नेप्सेको वृद्धिलाई यस दिन कारोबार रकमले पनि साथ दिएको छ । अर्थात यस दिन नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । गत बिहीबार ७ अर्ब ५१ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१९ स्टकको ६८ हजार ११२ पटकको कारोबारमा ९ अर्ब २० करोड ३१ लाख ४६ हजार रुपैयाँ बराबरको २ करोड ९७ लाख ३८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
यस दिन ६ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सामुदायिक लघुवित्त वित्तीय संस्था, गोर्खाज फाइनान्स, पञ्चकन्या माइ हाइड्रोपावर, पिपुल्स पावर, तेह्रथुम पावर र गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, यस दिन उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य ८ प्रतिशत बढेको छ । कारोबारमा आएको खानी खोला हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक ४.७६ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन हिमालयन बैंक लिमिटेडको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ । सो बैंकको यस दिन १ अर्ब ६६ करोड ५० लाख रुपैयाँ बराबरको संस्थापक शेयर कारोबार भएको छ । त्यस्तै, यस दिन यूनियन हाइड्रोपावरको करिब साढे ३४ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ भने बुटवल पावर कम्पनीको कारोबार रकम २५ करोड रुपैयाँ नाघेको छ ।
१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहको परिसूचक घटेको छ ।