नेप्से परिसूचक घटेर बन्द, २७ अंकले घट्यो परिसूचक

काठमाडाैं, १८ कार्तिक । नेप्से परिसूचक मंगलबार घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात सोमबार पनि घटेर बन्द भएको नेप्सेले यस दिन सोही क्रमलाई निरन्तरता दिएको हो ।

यस दिन नेप्से परिसूचक २७.६४ अंक घटेर २५९५.२४ विन्दुमा झरेको छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ३.९३ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.९१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३० अंक घटेको छ ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ । सोमबार ६ अर्ब ५ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२२ स्टकको ४६ हजार ८७५ पटकको कारोबारमा ५ अर्ब १५ करोड ७ लाख ६८ हजार रुपैयाँ बराबरको १ करोड ३ लाख ४३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

आजदेखि कारोबारमा आएको माबिलुङ्ग इनर्जी लिमिटेडको शेयर यस दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको शेयरमूल्य यस दिन ३१ रुपैयाँ ७० पैसा बढेर ३४९ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ । त्यस्तै, यस दिन फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य करिब साढे ६ प्रतिशत बढेको छ । कारोबारमा आएको मुक्तिनाथ कृषि कम्पनीको शेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन २७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, यस दिन राधी विद्युत कम्पनीको करिब साढे २२ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ भने यूनियन हाइड्रोपावरको कारोबार रकम साढे १८ करोड रुपैयाँ नाघेको छ ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक २.२१ प्रतिशत घटेको छ ।