एमालेको २३ पन्ने अपानि जारी: जेन-जी आन्दोलन, संसद विघटन र महाधिवेशनका विषयमा यस्ताे छ विश्लेषण

काठमाडौँ, १९ कात्तिक । नेकपा एमालेले हालै सम्पन्न विधान महाधिवेशन, सचिवालय र केन्द्रीय कमिटीका बैठकका निर्णयहरू समेटेर २३ पन्ने अन्तरपार्टी निर्देशन (अपानि) जारी गरेको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा मंगलबार जारी गरिएको अपानिमा भदौ २३ र २४ गतेको जेन-जी आन्दोलन, त्यसले निम्त्याएको विध्वंस र पार्टीको आसन्न ११ औं महाधिवेशनका बारेमा विस्तृत विश्लेषण गरिएको छ।

संसद विघटन र राजनीतिक रिक्तता:
अपानिमा तत्कालीन प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिएपछि काम चलाउ प्रधानमन्त्रीका रूपमा संसद बैठकबाट संविधान संशोधन गरेर राजनीतिक समस्याको निकास निकाल्नका लागि राष्ट्रपतिलाई सिफारिस गरेको उल्लेख छ।

“प्रतिनिधिसभाको विघटनले मुलुकलाई जनप्रतिनिधि निकायविहीन अवस्थामा पुर्‍याएको छ र राजनीतिक रिक्तता सिर्जना गरेको छ,” अपानिमा भनिएको छ, “यसले जनतामा निहित सार्वभौमसत्तालाई कमजोर बनाएको छ र लोकतन्त्र विरोधी शक्तिलाई उत्साहित तुल्याएको छ।”
एमालेले अलोकतान्त्रिक र असंवैधानिक ढंगले गरिएको प्रतिनिधिसभा विघटनप्रति आपत्ति प्रकट गर्दै विघटित प्रतिनिधिसभा पुनःस्थापनाको माग गरेको छ।

जेन-जी आन्दोलन छानबिन आयोग अस्वीकार:
एमालेले भदौ २३ र २४ गतेका घटनाको छानबिनका लागि गठन भएको गौरी बहादुर कार्की आयोगलाई अस्वीकार गर्ने जनाएको छ। अपानिमा उल्लेख भएअनुसार, “यति ठूलो घटनाको छानबिनको जिम्मा राजनीतिक दलका नेता र लोकतान्त्रिक प्रक्रियाप्रति दुराशययुक्त भावना राख्ने व्यक्तिलाई दिइएकोले यो आयोगलाई एमालेले पूर्ण रूपमा अस्वीकार गर्दछ।”

पार्टीले सर्वोच्च अदालतका पूर्वन्यायाधीशको अध्यक्षतामा निष्पक्ष छानबिन आयोग गठन गर्न पनि माग गरेको छ। “अहिलेको आयोगले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई जबरजस्ती मुछ्न खोजेको तर २४ गते तोडफोड, आगजनी, विध्वंस मच्चाउने र राष्ट्रविरोधी जघन्य कसुर गर्नेलाई प्रहरीले सप्रमाण गिरफ्तार गरेका व्यक्तिहरूलाई छाड्न सघाउने काम गरिरहेको छ,” अपानिमा भनिएको छ, “यस्ता व्यक्तिको नेतृत्वमा गठित आयोगले स्वतन्त्र छानबिन गर्न सक्दैन। यस्तो आयोगबाट निष्पक्षताको अपेक्षा गर्न सकिँदैन।”

११ औं महाधिवेशन काठमाडौँमा:
अपानिमा असोज २९-३१ गते भएको केन्द्रीय कमिटी बैठकले पोखरामा ११ औं महाधिवेशन गर्ने निर्णय गरे पनि विषम राजनीतिक परिस्थितिका कारण सचिवालयको बैठकले महाधिवेशन काठमाडौँ सारेको उल्लेख गरिएको छ।

अपानिमा महाधिवेशनको उद्घाटन सत्रमा व्यापक रूपमा जनपरिचालन गर्ने योजनासहित महाधिवेशन काठमाडौँमै गर्न लागिएको जनाइएको छ। अपानिमा महाधिवेशन प्रतिनिधि कुन क्षेत्रबाट कसरी छनोट गर्ने, त्यसका आधारहरू के-के हुन्, पार्टी सदस्य सङ्ख्यालाई कसरी हिसाब गरेर प्रतिनिधिको सङ्ख्या यकिन गर्ने भन्ने बारेमा विस्तारमा व्याख्या गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *