हुम्लामा ठूलो परिमाणमा अवैध चिनियाँ मदिरा बरामद
काठमाडौँ, कार्तिक १९ । जिल्ला प्रहरी कार्यालय हुम्लाले ठूलो परिमाणमा अवैध चिनियाँ मदिरा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शंकर पोखरेलज्यूको नेतृत्वमा खटिएको टोलीले विभिन्न स्थानहरूबाट ३५१ कार्टुन अवैध चिनियाँ मदिरा बरामद गरेको हो ।
उहाँका अनुसार, कुल चार हजार दुई सय १२ बोतल अवैध चिनियाँ मदिरा विभिन्न स्थानहरूबाट बरामद गरिएको हो । हिल्सा नाकादेखि नाम्खा गाउँपालिकाको ढाडकेर्मी, तुम्कोट लगायतका स्थानबाट ती अवैध चिनियाँ मदिरा बरामद गरिएको डीएसपी पोखरेलले जानकारी दिनुभयो ।
बरामद गरिएको चिनियाँ मदिराको कुल मूल्य प्रतिबोतल चार सयका दरले सोह्र लाख चौरासी हजार आठ सय रुपैयाँ बराबर रहेको छ । मंगलबार राति १२ बजे यो मदिरा बरामद गरिएको डीएसपी पोखरेलले बताउनुभयो ।
बेवारिसे अवस्थामा फेला परेका दुई हजार बाईस लिटर अवैध र अखाद्य चिनियाँ मदिरा बरामद गरिएको उहाँले जानकारी दिनुभयो । बरामद गरिएको मदिरालाई नष्ट गरिने डीएसपी पोखरेलले बताउनुभयो ।
