नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम भने घट्यो
काठमाडाैं, १९ कात्तिक । यस दिन नेप्से परिसूचक बढेर बन्द भएको छ । अघिल्ला दुई कारोबार दिन घटेर बन्द भएको नेप्से, यस दिन भने बढेर बन्द भएको हो ।
बुधबार नेप्से परिसूचक १२.१७ अंक बढेर २६०७.४२ विन्दुमा पुगेको छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.१४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.९० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४५ अंक बढेको छ ।
यस दिन नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दिन अर्थात मंगलबार ५ अर्ब १५ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१२ स्टकको ४२ हजार ८७९ पटकको कारोबारमा ४ अर्ब ६८ करोड १९ लाख २२ हजार रुपैयाँ बराबरको ९२ लाख १८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
माबिलुङ्ग इनर्जी लिमिटेडको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । हिजोदेखि कारोबारमा आएको यस कम्पनीको शेयरमूल्य यस दिन ३४ रुपैयाँ ९० पैसा बढेर ३८४ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ ।
त्यस्तै, यस दिन उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने नेपाल फाइनान्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक ७.४८ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन यूनियन हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ३८ करोड ६१ लाख ५२ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, यस दिन हिमालयन डिष्टिलरीको साढे ३२ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने राधी विद्युत कम्पनीको कारोबार रकम साढे ३१ करोड रुपैयाँ नाघेको छ ।
१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ । यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.४१ प्रतिशत बढेको छ ।