स्वचालित हतियार र पेस्तोलसहित धमला पक्राउ
काठमाडौँ, कार्तिक १९ । तारकेश्वर नगरपालिका-११ बाट स्वचालित हतियार र पेस्तोलसहित कैलालीको टिकापुर-१ का शिवराज धमलालाई पक्राउ गरिएको छ । उहाँलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार धमला पठाओ राइडर पनि हुनुहुन्छ ।
उहाँको साथबाट स्वचालित इन्सास हतियार, सर्टगन र पेस्तोल बरामद भएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले जानकारी दिनुभयो ।
बरामद गरिएका हतियारहरू गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएको बताइएको छ । उक्त आन्दोलनमा प्रहरीका १ हजार २७१ हतियार लुटिएका थिए, जसमध्ये ५ सयभन्दा बढी हतियार अझै बेपत्ता छन् ।
