५२ हजार रुपियाँसम्म पर्छ, भोजपुरे खुकुरीको मूल्य
काठमाडौँ, कार्तिक २१ । ‘भोजपुरे खुकुरी’ ले देश तथा विदेशमा आफ्नो विशिष्ट पहिचान कायम राखेको छ, र यो आज पनि स्थानीय कालीगढहरूको हातमा चम्किरहेको छ। खुकुरी उद्योगका लागि प्रख्यात भोजपुर जिल्लामा अहिले पनि मागअनुसार विभिन्न प्रकारका खुकुरीहरू तयार पारिन्छन् । स्थानीय खुकुरी व्यवसायी हीरा श्रेष्ठका अनुसार भोजपुरमा बन्ने खुकुरीको मूल्य न्यूनतम ५०० रुपियाँदेखि अधिकतम ५२ हजार रुपियाँ सम्म पर्छ । भोजपुरे खुकुरीको माग नेपालका विभिन्न स्थानका साथै विदेशबाट पनि आउने गरेको छ ।
श्रेष्ठले भन्नुभयो, “यहाँका खुकुरीहरू देशभित्र मात्र होइन, विदेशसम्म पनि निर्यात हुन्छन्। मागका आधारमा साधारणदेखि विशेष डिजाइनका खुकुरी बनाइन्छ ।” उच्च मूल्यका खुकुरीहरू विशेष मागका आधारमा बनाइने र त्यसका लागि उच्च गुणस्तरका फलाम, काँसा र काठ प्रयोग गरिने उहाँले बताउनुभयो । भोजपुरे खुकुरीले बजारको दैनिक सामान्य माग धान्ने गरे पनि कहिलेकाहीँ ठूलो परिमाणमा माग आउँदा त्यसलाई पूरा गर्न कठिन हुने उहाँको भनाइ छ ।
परम्परागत सीप र नयाँ प्रविधिको मिश्रणबाट तयार हुने भोजपुरे खुकुरी नेपाली साहस, गौरव र पहिचानको प्रतीकका रूपमा परिचित छ । भोजपुर भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरूले भोजपुरे खुकुरीलाई ‘स्मृति उपहार’का रूपमा लिएर जाने गर्छन्, जसले यहाँको पर्यटन र स्थानीय अर्थतन्त्रमा समेत योगदान पुर्याएको स्थानीयहरू बताउँछन् ।
पहिले हातले मात्र बनाइने खुकुरी अहिले आधुनिक उपकरणको सहयोगमा अझ आकर्षक र बलियो बनाइन्छ । फलाम तताउने, छेउ धारिलो पार्ने, फलाम पिट्ने, बिँड लगाउने, दाप बनाउने काम अहिले पनि स्थानीय कालीगढहरूले आफ्नै सीपले गर्दै आएका छन् । भोजपुरे खुकुरी देशका विभिन्न ठाउँसँगै अमेरिका, बेलायत लगायतका देशबाट पनि माग हुने गरेको व्यवसायीहरू बताउँछन् ।