सङ्घीय र प्रदेश सांसदका पदाधिकारीहरूको संयुक्त बैठक बस्दै, सेवासुविधा कटौतीबारे छलफल हुने
काठमाडौं , २१ कात्तिक । सङ्घीय संसद्का पदाधिकारी र प्रदेश सभाका पदाधिकारीहरूको संयुक्त बैठक बस्दैछ ।
आज बिहान ११ बजे राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्ष सिंहदरबारमा बैठक बस्न लागेको सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए ।
अधिकारीका अनुसार बैठकमा सङ्घ र प्रदेशका सांसदले गरिरहेका काम कारबाहीबारे छलफल हुनेछ । यद्यपि छलफलको मुख्य उद्देश्य भने सेवासुविधा खारेजीको विषय रहेको बुझिएको छ ।
सरकारले केही दिनअघि मात्र सङ्घीय संसद्का पदाधिकारी र प्रदेश सभाका पदाधिकारीको सचिवालय सम्बन्धी सेवा सुविधा कटौती गरेको थियो । यसबाट सङ्घीय संसदका मात्र ३३२ पदाधिकारी र सांसदलाई प्रत्यक्ष रूपमा प्रभावित बनाएको छ । प्रदेशमा पनि किचलो र असन्तुष्टी बढेको छ ।
सोमबार मात्र सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद घिमिरे, उपसभामुख इन्दिरा रानासहित संसद सचिवालयका कर्मचारीहरुले प्रधानमन्त्री कार्कीलाई भेटेर खर्च कटौती गर्ने निर्णयमा विरोध जनाएका थिए ।
खासगरी सरकारले समन्वय र परामर्श नगरी एकलौटी ढंगले निर्णय गरेकोमा उनीहरूको असन्तुष्टी छ । आजको बैठकले सरकारको निर्णयविरुद्ध एकजुट भएर लाग्ने र उल्ट्याउन दबाब दिनेबारे रणनीति बनाउने बुझिएको छ ।