जिल्ला प्रहरी कार्यालय सुर्खेत हिरासतमा थुनुवाको मृत्यु
सुर्खेत, २१ कात्तिक । जिल्ला प्रहरी कार्यालय सुर्खेत हिरासतमा एक जना थुनुवाको मृत्यु भएको छ । आज बिहान लागूऔषध कारोबार मुद्दामा थुनामा रहेका वीरेन्द्रनगर नगरपालिका-११ पिपिराका ३५ वर्षीय गङ्गे सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढाथापाले आज बिहान कर्णाली प्रदेश अस्पतालमा सुनारको उपचारका क्रममा मृत्यु भएको जानकारी दिनुुभयो । उहाँका अनुसार सुनार आज बिहान ओछ्यानमा बेहोस अवस्थामा भेटिएका थिए ।
प्रहरी नायब उपरीक्षक बुढथापाका अनुसार सुनारको मृत्युपछि हिरासतमा जडान गरिएको ‘सिसिटिभी फुटेज’ हेरिएको छ । “फुटेजमा सुत्नुअघि बाथरुमबाट टाउको नुहाएर बाहिर निस्किएका थिए । उनी सुतेको समयमा घुर्ने भएकाले राति साथीहरूले नघुर्न भनेर उठाएको फुटेजमा देखिएको छ”, उहाँले भन्नुभयो ।
सुनार ७८ दिनदेखि हिरासतमा रहेका प्रहरी नायब उपरीक्षक बुढथापाले बताउनुभयो । उहाँका अनुसार चार दिनअघि सरकारी वकिल कार्यालयमा मुद्दा गएर आज उहाँको मुद्दामा पेसी थियो ।