पर्यटनले फर्काउँदै लोपोन्मुख आठपहरिया समुदायमा समृद्धि
काठमाडौँ, कार्तिक २२ । धनकुटा बजारबाट करिब पाँच किलोमिटर उकालो चढेपछि पुगिने रमणीय सिप्तिङ गाउँ, जहाँ लोपोन्मुख आठपहरिया समुदायको बाहुल्यता रहेको छ । धनकुटा नगरपालिका–३ मा पर्ने यो स्याउले सिप्तिङ गाउँ यतिबेला सांस्कृतिक पर्यटनको नयाँ गन्तव्य बनेको छ । अरुण र तमोर नदीको संगमस्थल धनकुटालाई आफ्नो उद्गम मान्ने यो सीमान्तकृत आदिवासी जनजाति, पर्यटनमार्फत समृद्धिको खोजीमा जुटेको छ । यहाँ सञ्चालित होमस्टेले स्थानीय पर्यटनमा नयाँ पहिचान स्थापित गरेको छ। स्याउले सिप्तिङ पुग्ने पर्यटकहरूलाई पाहुना नभई परिवारका सदस्यका रूपमा स्वागत गरिन्छ। हरियाली डाँडा, स्वच्छ हावा र घामका किरणले यस गाउँको सुन्दरतालाई थप आकर्षक बनाएको छ ।
नेपालको जनगणना २०७८ अनुसार, आठपहरिया समुदायको जनसंख्या ५ हजार ८७८ मात्र छ। यस समुदायलाई होमस्टेमार्फत समृद्धिको यात्रामा डोहोर्याउने अग्रसरता अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र र कम्युनिटी होमस्टे नेटवर्कले गरेका थिए । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहकार्यमा सञ्चालित जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाले संस्कृति प्रवर्द्धनका लागि धनकुटा नगरपालिकासँग सहकार्य गरेको थियो । पर्यटकको स्वागतमा होटलको औपचारिकताभन्दा मौलिक संस्कृति झल्कन्छ। आमा तथा दिदीबहिनीहरूले रातो टीका, फूलमाला र मिठो मुस्कानले पाहुनालाई स्वागत गर्छन्। स्वागतमा स्थानीय मौरीको मह मिसाइएको पानी अनिवार्यजस्तै छ ।
एकैछिन आराम गरेपछि पाहुनालाई होमस्टे र समुदायको इतिहास, संस्कार र संस्कृतिसँग साक्षात्कार गराइन्छ । आठपहरिया समुदायले कसरी आफ्नो पहिचान र परम्परा जोगाउँदै पर्यटनलाई आत्मसात गरेका छन् भन्नेबारे जानकारी दिइन्छ । स्याउले सिप्तिङ पुग्ने धेरैको ध्यान सुन्तला बगैँचाले तान्छ । पाहुनाहरू बगैँचामा रमाउँदै किसानसँग सुन्तलाखेती, मह उत्पादन र स्थानीय बीउ संरक्षणबारे संवाद गर्छन्। यहाँको होमस्टेले पाहुनालाई बास मात्र नभई जीवनशैलीको अध्ययन र अनुभव पनि प्रदान गर्छ ।
होमस्टेका अध्यक्ष हिराबहादुर राईका अनुसार, गत वर्ष ७२ जना पर्यटकले यस होमस्टेको भ्रमण गरेका थिए । जसमध्ये २४ जना विदेशी पाहुना थिए। यस वर्ष हालसम्म ८२ जना पर्यटक आइसकेका छन् । एक रातमा १७ जनासम्म पाहुनालाई बास दिनसक्ने गरी विकसित यस होमस्टेमा मनोरञ्जन, संस्कृति संरक्षण र नयाँ पुस्तालाई आफ्नो संस्कृतिबारे जानकारी गराउने उद्देश्यले हरेक साँझ स्थानीय सांस्कृतिक नृत्यहरू प्रस्तुत गरिन्छ ।
यहाँको अर्को आकर्षण साततले झरना र गुफा हो। होमस्टेबाट १५ मिनेटको सवारी यात्रा र डेढ घण्टाको पैदल यात्रापछि झरना पुग्न सकिन्छ। झरनाभन्दा एक किलोमिटर अगाडि साततले गुफा छ।
आठपहरिया समुदाय नेपालको लोपोन्मुख जातिमा पर्छ । उनीहरूको आफ्नै भाषा, गीत, नृत्य र परम्परा छ । आधुनिकतासँगै संस्कृति हराउने चिन्ता व्यक्त गर्दै हिराबहादुर राई भन्नुहुन्छ, “हामीले पुर्खाहरूबाट सिक्यौँ, तर नयाँ पुस्ता आधुनिकतामा रमाएर आफ्नो संस्कृति छोड्दै जाँदा इतिहास नै मेटिन्छ कि जस्तो लाग्छ । त्यसैले अहिले हामीले संस्कृति हस्तान्तरण र सिकाइका लागि हरेक साँझ सांस्कृतिक कार्यक्रमहरू गर्ने गरेका छौँ।” उहाँका अनुसार, होमस्टे यहाँ केवल व्यवसाय मात्र नभएर संस्कृति जीवित राख्ने माध्यम पनि हो । पाहुनाले यहाँ प्रकृति मात्र होइन, जीवनको एक पुरानो अध्यायसँग भेट गर्छन्, जहाँ सम्बन्ध, श्रम र माटोको गन्ध मिसिएको छ ।
यस परियोजनामा स्थानीय युवाहरू सक्रिय छन् । उनीहरू पर्यटन व्यवस्थापन, पाहुना सेवा र गाइडिङमा दक्ष बन्दै गइरहेका छन् । तर, अझै सहज पहुँचका लागि होमस्टेसम्म जोड्ने बाटो निर्माणका लागि स्थानीय समुदायले सरकारसँग सहयोगको आग्रह गरेका छन् ।
दिगो पर्यटन परियोजनाका अधिकृत खगेन्द्र खड्काले भन्नुभयो, “स्याउले सिप्तिङ सामुदायिक होमस्टेले नेपालमा सांस्कृतिक पर्यटनको नयाँ परिभाषा दिइरहेको छ। स्याउले सिप्तिङको साँझमा जब ढोल बज्छ र आठपहरियाहरू परम्परागत नृत्यमा रमाउँछन् । पाहुना पनि सँगसँगै नाच्छन् । त्यो क्षणमा संस्कृति, प्रकृति र मानवीय आत्मीयता एकै ठाउँमा मिसिएको अनुभव हुन्छ । यसले ग्रामीण अर्थतन्त्रमा सशक्त प्रभाव पार्ने मात्र नभएर संस्कृति जगेर्नामा पनि कोशेढुंगा साबित हुनेछ ।”