वसको ठक्करले पैदल यात्रीको मृत्यु
वैशाख २३, २०८२ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ मास्टरचोकमा गए राति यात्रुवाहक बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार, जनकपुरबाट काठमाडौँतर्फ गइरहेको बाप्र०३–००१ख २६५६ नम्बरको बसले रुपन्देहीको देवदह नगरपालिका-८ का ३७ वर्षीय रामबहादुर बोहरालाई ठक्कर दिएको थियो ।
बसको ठक्करबाट गम्भीर घाइते भएका बोहरालाई तत्काल उद्धार गरी हेटौँडा अस्पताल पुर्याइएको थियो, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरे । प्रहरीले ठक्कर दिने बस र त्यसका चालक महोत्तरीको रामगोपालपुर नगरपालिका–६ का ३३ वर्षीय सुजयकुमार सिंहलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।
