हत्याका आरोपीबाटै मारिएका थिए प्रहरी वृत्त महाराजगञ्जका असई राय, यसरी परेका थिए आरोपी पक्राउ
काठमाडौं, २३ कात्तिक । जेनजी आन्दोलनका क्रममा प्रहरी वृत्त महाराजगञ्जका असई मिलन राय र उत्तम थापाको निर्मम हत्या भएको घटनामा संलग्न मुख्य आरोपीलाई प्रहरीले पक्राउ गरेको छ।
लामो समयदेखिको अनुसन्धानपछि काठमाडौं प्रहरी परिसरको टोलीले राजावादी आन्दोलनको क्रममा ती आरोपीलाई नियन्त्रणमा लिएको हो।
घटनाको समयमा प्राप्त एउटा भिडियोमा ‘KAAJARIAA’ लेखिएको टिसर्ट लगाएको, कालो हाफ पाइन्ट र सेतो जुत्ता लगाएका एक युवकले महाराजगञ्ज वृत्तकै मन्दिर अगाडि बेहोस अवस्थामा ढलेका प्रहरीलाई भाटाले निर्ममतापूर्वक कुटपिट गरेको स्पष्ट देखिन्थ्यो।
यसै भिडियोलाई आधार मानेर जिल्ला प्रहरी परिसर काठमाडौंले ‘अपरेशन’ सुरु गरेको थियो। विभिन्न प्राविधिक कोणबाट विश्लेषण र गहन अनुसन्धानका बावजुद दुई नाबालकसहित १२ जना यसअघि नै पक्राउ परे पनि भिडियोमा देखिएका मुख्य व्यक्तिको पहिचान हुन सकेको थिएन।
शनिबार राजावादी समूहले काठमाडौंको सामाखुसी क्षेत्रमा जुलुस तथा प्रदर्शन गरिरहेको बेला लामो समयदेखि अपरेशनमा खटिएका सादा पोशाकका प्रहरीले भिडियोमा देखिएको सोही टिसर्ट लगाएका व्यक्तिलाई प्रदर्शनको छेउमा फेला पारे। तत्काल उनलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनको पहिचान भोजपुरको दोभान गाउँपालिका-२ का ३६ वर्षीय इन्द्रबहादुर राईको रूपमा खुल्यो।
प्रारम्भिक सोधपुछकै क्रममा राई जेनजी आन्दोलनमा प्रहरी हत्या गर्नेमध्येका एक भएको स्वीकार गरेका छन्। उनले प्रहरीमाथि आक्रमण गर्दा लगाएको टिसर्ट नै लगाएर राजावादी प्रदर्शनमा पुगेका थिए।
प्रहरीले नियन्त्रणमा लिएपछि उनको पवित्रनगरस्थित कोठामा खानतलासी गर्दा घटनाको समयमा लगाएको जुत्ताका साथै प्रहरीबाट लुटिएको पेस्तोल र गोलीसमेत फेला परेको छ। परिसर प्रमुख तथा एसएसपी रमेश थापाका अनुसार, राईको कोठाबाट टाइप ५४ लेखिएको पेस्तोल, त्यसको म्यागजिन र ७ राउण्ड गोली बरामद भएको छ।
सार्वजनिक भिडियोमा इन्द्रबहादुर राईले प्रहरी जवान उत्तम थापालाई आक्रमण गरेको देखिन्छ। परिसरका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले राईविरुद्ध यसअघि पनि २०८० सालमा महाराजगञ्जबाटै हत्या प्रयासको मुद्दा चलेको जानकारी दिए।