रुपन्देहीमा करिब २३ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद
काठमाडौँ, कार्तिक २४ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पछिल्ला दुई दिनमा करिब २३ लाख रुपियाँ बराबरको अवैध सामान नियन्त्रणमा लिएको छ । कात्तिक २१ र २२ गते जिल्लाका विभिन्न स्थानमा गरिएको विशेष जाँच अभियानका क्रममा भन्सार छली र चोरी पैठारी गरी ल्याइएका २२ लाख ८८ हजार २२८ रुपियाँ बराबरका सामान बरामद गरिएको रुपन्देही प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार, नियन्त्रणमा लिइएका सम्पूर्ण सामान आवश्यक कारबाहीका लागि कात्तिक २३ गते भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार, जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले रोहिणी गाउँपालिका-२, मैनिहवाबाट ऊलन लेडिज कुर्ता, बच्चाको मोजा, टोपी, टाउजर सेट, हुडी र जेन्स मोजा गरी १ लाख २५ हजार ८०० रुपियाँ बराबरको सामान बरामद गरेको छ।
यसैगरी, इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले तिलोत्तमा नगरपालिका-३, शङ्करनगरबाट भारतीय नम्बर प्लेटको कारको पछाडि सिटमुनि लुकाएर राखिएका बिलबिजक नभएका सामानहरू नियन्त्रणमा लिएको छ । उक्त कारबाट ल्यापटप चार्जरको झोला, पहेँलो धातुको गाई आकारको मूर्ति, विभिन्न ब्राण्डका मदिराका बोतल, मोबाइलका डिस्प्ले र गमको प्याकेटहरू बरामद भएका छन् । कार र सामानसहित कुल १८ लाख ४० हजार २२८ रुपियाँ बराबरको सामग्री जफत गरिएको प्रहरीले जनाएको छ ।
यस्तै, प्रहरी चौकी शिवपुर गोनाहा र मर्यादपुरबाट खटिएको संयुक्त टोलीले मायादेवी गाउँपालिका-५, गोनाहाबाट लु २२ प १२५७ नम्बरको मोटरसाइकलसहित ऊलन लेडिज सुट, ऊनी सल, काँचो कपडा, लेडिज बाक्लो ऊलन सुट गरी ३ लाख २२ हजार २०० रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।
