राष्ट्रघाती विद्युत खरिद सम्झौता भएकाे भन्दै जेनजी मुभमेन्टद्वारा उर्जामन्त्री कुलमान घिसिङ लाई तत्काल बर्खास्त गर्न माग

काठमाडौँ, २५ कात्तिक । जेनजी मुभमेन्टले उर्जामन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग गरेको छ। घिसिङ समेतको संलग्नतामा राष्ट्रघाती विद्युत खरिद सम्झौता भएको आरोप लगाउँदै जेनजी मुभमेन्टले यो माग अघि सारेको हो।

जेनजी मुभमेन्ट नेपालका प्रवक्ता विजय साहले आज जारी गर्नुभएको विज्ञप्तिमा ऊर्जामन्त्री घिसिङ र प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवालको सेटिङमा भारतको कम्पनी पीटीसी इण्डियासँग ४३ करोड रुपैयाँ बराबर नोक्शानी हुनेगरी गैरकानूनी विद्युत खरिद सम्झौता गरेर देशको आर्थिक स्वाधीनतामाथि खुलेआम प्रहार गरिएको उल्लेख छ।

यो सम्झौता ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री घिसिङ र नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक सिलवालको मिलेमतोमा, विद्युत नियमन आयोगको स्वीकृति बिना गरिएको तथ्य प्रष्ट भइसकेको विज्ञप्तिमा दाबी गरिएको छ। जेनजी मुभमेन्टका अनुसार यो कार्य सिधा-सिधा भ्रष्टाचार र राष्ट्रिय स्वार्थको बिक्री हो।

आफ्ना मागहरू राख्दै जेनजी मुभमेन्टले भनेको छ – ‘ऊर्जामन्त्री कुलमान घिसिङलाई तुरुन्त बर्खास्त गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर गर्नुपर्छ। प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवाललाई तत्काल निलम्बन गरी सम्पत्ति शुद्धीकरण ऐन अन्तर्गत छानबिन थाल्नुपर्छ। विद्युत नियमन आयोगले स्वतन्त्र छानबिन समिति गठन गरी सम्पूर्ण विद्युत् सम्झौताहरू सार्वजनिक गर्नुपर्छ।’
जेनजी मुभमेन्टले राष्ट्रघाती सम्झौतामा संलग्नहरूलाई जेल हाल्न र राज्यका सम्पत्ति फिर्ता गराउन कानुनी प्रक्रिया तुरुन्त सुरु गर्न समेत माग गरेको छ।

यस विषयले हाल विद्युत खरिद सम्झौता र ऊर्जा मन्त्रालयको कार्यशैलीमाथि गम्भीर प्रश्नहरू खडा गरेको छ।