जेनजी आन्दोलनको क्षति: करिब रु ३.६८ अर्ब बिमा दाबी भुक्तानी, कुल दाबी रु २३.४६ अर्ब

काठमाडौँ, २५ कात्तिक। जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिका लागि हालसम्म निर्जीवन बिमा कम्पनीहरूले करिब रु तीन अर्ब ६८ करोड ४१ लाख बिमा दाबी भुक्तानी गरिसकेका छन्। नेपाल बिमा प्राधिकरणबाट प्राप्त पछिल्लो तथ्याङ्कअनुसार, यस आन्दोलनका कारण परेका कुल बिमा दाबी रु २३ अर्ब ४६ करोड ९१ लाख रहेको छ।

प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीका अनुसार, कुल दाबीमध्ये सम्पत्ति बिमातर्फ ६९३ वटा दाबीका लागि रु १९ अर्ब चार करोड नौ लाख माग गरिएकोमा करिब रु दुई अर्ब ९२ करोड ८६ लाख अग्रिम भुक्तानी गरिएको छ। त्यस्तै, मोटर बिमातर्फ दुई हजार २९० वटा दाबीको करिब रु तीन अर्ब ४७ करोड सात लाखमध्ये रु ६८ करोड ६१ लाख भुक्तानी भएको छ।

इञ्जीनियरिङ तथा ठेक्का जोखिम बिमातर्फ २०९ वटा दाबीको करिब रु ५४ करोड ७५ लाखमध्ये रु ६ करोड २३ लाख, परिवहन बिमातर्फ १२ वटा दाबीको करिब रु एक करोड ६८ लाखमध्ये रु ४७ लाख र अन्य बिमातर्फ ४२ वटा दाबीको करिब रु ३९ करोड ३० लाखमध्ये रु २३ लाख अग्रिम भुक्तानी भएको प्राधिकरणले जनाएको छ।

यसैबीच, जेनजी आन्दोलनका क्रममा भएका क्षतिको बिमा दाबी भुक्तानीका लागि नेपाल पुनःबिमा कम्पनीले निर्जीवन बिमा कम्पनीहरूलाई करिब रु दुई अर्ब ४८ करोड १० लाख अग्रिम भुक्तानी उपलब्ध गराएको छ। नेपाल पुनःबिमा कम्पनीमा हालसम्म दुई हजार ८५७ वटा पुनःबिमा दाबी दर्ता भई सोको कुल रकम करिब रु १५ अर्ब ८२ करोड ७० लाख पुगेको छ।

कार्यकारी निर्देशक सुवेदीले बिमा दाबी छिटो र पारदर्शी रूपमा भुक्तानी सुनिश्चित गर्न प्राधिकरणले बिमा कम्पनी र पुनःबिमा कम्पनीसँग निरन्तर समन्वय गरिरहेको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *