एनपीएलको टिकट बिक्री सुरु, खल्तीबाट खरिद गर्न सकिने
काठमाडौं, २७ कात्तिक । नेपाल क्रिकेट सङ्घ (क्यान) ले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को औपचारिक रूपमा टिकट बिक्री सुरु गरेको छ ।
मङ्सिर १ गतेदेखि २७ गतेसम्म त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, कीर्तिपुरमा हुने प्रतियोगिताका लागि दर्शकले विभिन्न दरका टिकट खरिद गर्न सक्नेछन् ।
क्यानका अनुसार, दर्शकका लागि टिकट मूल्य यस प्रकार तोकिएको छ:
ओपनिङ डे र शनिबारका खेलहरूका लागि:
जनरल टिकट: रु ५००
प्रिमियम टिकट: रु १,५००
साप्ताहिक दिन (आइतबारदेखि शुक्रबार) मा हुने खेलहरूका लागि:
जनरल टिकट: रु ५००
प्रिमियम टिकट: रु १,०००
यसका साथै, सम्पूर्ण खेलहरू हेर्न चाहने क्रिकेटप्रेमीहरूका लागि विशेष ‘सिजन पास’ को व्यवस्था पनि गरिएको छ । यसको मूल्य रु १५,००० तोकिएको छ र यो पासमार्फत प्रतियोगिताका सबै खेलहरू हेर्न सकिने क्यानले जनाएको छ ।
टिकट बिक्रीका लागि ‘खल्ती बाइ आईएमई’ लाई अधिकृत साझेदार बनाइएको छ । क्रिकेटप्रेमीहरूले ‘खल्ती’ एपमार्फत आफ्ना टिकटहरू अनलाइन खरिद गर्न सक्नेछन् ।