विदेशी पर्यटक ठगी आरोपमा ‘अल्टिट्युड राइडर्स’ का संस्थापक सिञ्जाली पक्राउ

काठमाडौँ,  कात्तिक २८ । विदेशी पर्यटकहरूलाई नेपाल भ्रमणमा सहजीकरण गर्ने बहानामा अनलाइनबाट ठगी गरेको आरोपमा अल्टिट्युड राइडर्स प्रालिका संस्थापक बिशु सिञ्जाली पक्राउ परेका छन् । प्रहरीको साइबर ब्यूरोले सुर्खेत बराहताल गाउँपालिका–३ घर भई हाल ४० वर्षीय सिञ्जालीलाई रोल्पाबाट पक्राउ गरी काठमाडौँ ल्याएर मुद्दा चलाएको हो ।

साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार सिञ्जालीले विदेशमै रहेका पर्यटकहरूसँग अनलाइनमार्फत नेपाल भ्रमणसम्बन्धी सम्झौता गरी ठगी गरेको खुलेको छ । “पर्यटकको जाहेरीपछि पक्राउ गरी उनलाई काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको थियो, अदालतले अनुसन्धानका लागि पाँच दिनको म्याद दिएको छ,” प्रवक्ता अवस्थीले बताउनुभयो ।

अनुसन्धानका क्रममा सिञ्जालीले पोल्यान्डका १३ जना पर्यटकलाई ‘मेरो अल्टिट्युड राइडर्स प्रालि कम्पनीले नेपालमा मोटरसाइकल राइडको व्यवस्था गरिदिनेछ’ भनी म्यासेन्जरमा कुराकानी गरी विश्वासमा पारेको खुलेको छ । उनले राइडर्सका लागि मोटरसाइकल, खाना, बस्न र अन्य सपोर्टसहितको सम्पूर्ण प्याकेज सेवा दिने शर्तमा नेपाल भ्रमणका लागि सम्झौता गरेका थिए । सम्झौताअनुसार, सिञ्जालीले सात दिनभित्र कुल रकमको ३० प्रतिशत अग्रिम भुक्तानी लिएका थिए। तर, शर्तबमोजिमका सेवा प्रदान नगरी उनी सम्पर्कविहीन भएका थिए। यसपछि पीडित पोल्यान्डका नागरिकहरूले विद्युतीय माध्यमबाट ठगी भएको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।

उजुरीका आधारमा खोजतलास गर्दा सिञ्जाली रोल्पामा रहेको पत्ता लागेको थियो। ब्यूरोको टोलीले रोल्पा प्रहरीको सहयोगमा उनलाई पक्राउ गरी थप अनुसन्धानका लागि काठमाडौँ ल्याएको ब्यूरोले आज जारी गरेको सूचनामा उल्लेख छ ।