कास्की प्रहरीद्वारा जेनजी प्रदर्शनका क्रममा लुटपाटमा संलग्नको पहिचानका लागि सहयोगको अपिल
कास्की, ३० कात्तिक। गत भदौ २३ र २४ गते पोखरामा भएको जेनजी प्रदर्शनका क्रममा तोडफोड, आगजनी र लुटपाटका घटनामा संलग्न व्यक्तिहरूको पहिचानका लागि कास्की जिल्ला प्रहरी कार्यालयले सक्रियता देखाएको छ।
प्रहरीले सरकारी कार्यालयसहित व्यावसायिक प्रतिष्ठान र निजी सम्पत्तिमा भएको क्षतिको भिडियो सार्वजनिक गर्दै त्यस्ता कार्यमा संलग्न देखिएका व्यक्तिलाई पहिचान गर्न सकेमा नाम, ठेगाना, सम्पर्क नम्बर आदि उपलब्ध गराउन आग्रह गरेको छ।
कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले आपराधिक गतिविधिमा संलग्न व्यक्तिका बारेमा सूचना दिने व्यक्ति–संस्थाको गोपनियता कायम राखिने बताउनुभयो।
आन्दोलनका नाममा आपराधिक कार्य गर्ने व्यक्तिको पहिचान गर्न सहज होस् भनेर सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गरी यस कार्यमा सघाउन सबैमा आग्रह गरिएको उहाँको भनाइ छ।