रेमिट्यान्स आप्रवाहमा ३५ प्रतिशतको वृद्धि, तीन महिनामा ५ खर्ब ५३ अर्ब भित्रियो

काठमाडौं,३० कात्तिक । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा नेपालमा रेमिट्यान्स आप्रवाहमा उल्लेखनीय वृद्धि भएको छ।

यस अवधिमा विप्रेषण आप्रवाह ३५.४ प्रतिशतले बढेर कुल ५ खर्ब ५३ अर्ब ३१ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.९ प्रतिशतले बढेको थियो र २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो।

अमेरिकी डलरमा हेर्दा, यस अवधिमा विप्रेषण आप्रवाह २९.२ प्रतिशतले वृद्धि भई ३ अर्ब ९४ करोड डलर पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १०.६ प्रतिशतले बढेको थियो।

चालू आर्थिक वर्षको तीन महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत – नयाँ) लिने नेपालीको सङ्ख्या १ लाख २३ हजार ४५९ पुगेको छ। त्यस्तै, पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ७७ हजार २५७ रहेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यो सङ्ख्या क्रमशः १ लाख १० हजार ६५४ र ५९ हजार ९३९ रहेको थियो। यसले वैदेशिक रोजगारीमा जानेहरूको सङ्ख्यामा पनि वृद्धि भएको देखाउँछ, जसले रेमिट्यान्स वृद्धिमा महत्त्वपूर्ण भूमिका खेलेको छ।