जेनजी प्रदर्शन: काभ्रेपलाञ्चोकमा थप पाँच जना पक्राउ, फरार ५४३ जना अझै खोजीको दायरामा
काभ्रेपलाञ्चोक, २ मङ्सिर । जेनजी आन्दोलनका क्रममा जिल्लाका विभिन्न संरचनामा आगजनी, तोडफोड र लुटपाटमा संलग्न थप पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार सरकारी संरचना, प्रहरी कार्यालय भवन तथा सम्पत्तिमाथि तोडफोड, आगजनी र लुटपाटमा संलग्नहरुलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेमा धुलिखेल नगरपालिका–३ का २१ वर्षीय अजय तामाङ, खानीखोला गाउँपालिका–१ का २१ वर्षीय विशाल भोलन, बनेपा नगरपालिका–३ का २२ वर्षीय रवीन्द्र परियार, बनेपा–८ का १९ वर्षीय अभि सुधाकार र दोलखाको जिरी नगरपालिका–१ का २७ वर्षीय भीम तामाङ रहेका छन्। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले उनीहरुविरुद्ध थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो।
विष्टका अनुसार पक्राउ परेकामध्ये विशाल भोलनविरुद्ध इलाका प्रहरी कार्यालय बनेपामा २०८१ मा लागुऔषध मुद्दा र अभि सुधाकरविरुद्ध २०७९ मा सवारी ज्यान मुद्दा दर्ता भएको थियो।
यसअघि पनि जेनजी आन्दोलनका क्रममा विभिन्न सरकारी तथा निजी भवन र सम्पत्तिमाथि आगजनी, तोडफोड र लुटपाटमा संलग्न १२ जनालाई काभ्रेपलाञ्चोक प्रहरीले पक्राउ गरिसकेको थियो। जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले छवटा निजी संरचनामा भएको क्षतिबारे उजुरी परेपछि विशेष अनुसन्धान सुरु गरिएको बताउनुभयो।
प्रहरीले इलाका प्रहरी कार्यालय बनेपामा तोडफोड, आगजनी तथा लुटपाटमा संलग्न ११ जनालाई पक्राउ गरी कारबाहीसहित थप अनुसन्धान गरिरहेको जनाएको छ। प्रदर्शनका क्रममा काभ्रेपलाञ्चोकमा १८ वटा सरकारी तथा निजी संरचनामा ठूलो क्षति पुगेको थियो।
यसका साथै, जेनजी आन्दोलनकै क्रममा विभिन्न कारागारबाट भागेका ५३ जना कैदीबन्दीलाई पनि प्रहरीले काभ्रेपलाञ्चोकबाट पक्राउ गरी जिल्ला कारागार धुलिखेलमार्फत सम्बन्धित कार्यालय पठाइसकेको छ।