नेप्से परिसूचकमा निरन्तर वृद्धि, कारोबार रकम पनि बढ्यो

काठमाडाैं, २ मङ्सिर । मंगलबार नेप्से परिसूचक १५.७० अंक बढेर २५६६.०७ विन्दुमा पुगेको छ।

अघिल्लो कारोबार दिनको वृद्धिलाई यस दिन पनि नेप्सेले निरन्तरता दिएको हो। आज सेन्सेटिभ इण्डेक्स २.६५ अंक बढेको छ। फ्लोट इण्डेक्स १.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९६ अंक बढेको छ।

यस दिन कारोबार रकम पनि सामान्य बढेको छ। सोमबार ३ अर्ब ९४ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा यस दिन ३४५ स्टकको ५५ हजार २७७ पटकको कारोबारमा ४ अर्ब १० करोड ५४ लाख ६ हजार रुपैयाँ बराबरको ९२ लाख ५५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन ५ वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। ती स्टकहरूमा सागर डिष्टिलरी, माबिलुङ्ग इनर्जी, बुङ्गल हाइड्रो, झापा इनर्जी र बन्दीपुर केबलकार एण्ड टुरिजम रहेका छन्।

यस दिन हिमस्टार उर्जा कम्पनीको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ भने मिड सोलु हाइड्रोपावरको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ। मूल्य घटेका स्टकहरूको गिरावटदर भने ४ प्रतिशतभन्दा कम रहेको छ।

यस दिन साहस उर्जाकाे शेयरमा सर्वाधिक कारोबार रकमका साथ शीर्ष स्थानमा रहेको छ, जसको २२ करोड ९१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। बरुण हाइड्रोपावरको साढे १५ करोड रुपैयाँभन्दा बढी र माउन्टेन इनर्जी नेपालको १३ करोड रुपैयाँ नाघेको कारोबार भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.२८ प्रतिशत बढेको छ। विकास बैंक र लगानी उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढी बढेका छन्।
समग्रमा, नेप्से बजारमा सकारात्मक माहोल देखिएको छ, जसले लगानीकर्ताहरूमा उत्साह बढाएको छ।