परपुरुषसँगकाे सम्बन्धले नवजात शिशुकाे हत्या, कुकुरले शव लिएर हिंडेपछि युवती पक्राउ
प्युठान, ३ मङ्सिर । परपुरुषसँगको अवैध सम्बन्धबाट जन्मेको शिशु फालेको आरोपमा प्युठान प्रहरीले एक युवतीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। प्युठानको गौमुखी गाउँपालिका–६ लिवाङ, बुक्तिचौरकी २१ वर्षीया बिपना सुनारलाई जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो।
यस घटनाको खुलासा मंसिर १ गते बिहान भएको थियो, जब एक कुकुरले नवजात शिशुको शव झुन्ड्याउँदै हिँडेको स्थानीय बासिन्दाले देखेका थिए। स्थानीयले तत्काल प्रहरीलाई खबर गरेपछि प्रहरीले शिशुको शव नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार, अनुसन्धानका क्रममा शिशु बिपना सुनारको भएको खुलेको थियो। बिपनाले परपुरुषसँगको सम्बन्धबाट छोरी जन्माएपछि बुक्तिचौरस्थित गहुँबारीमा फालेको खुलेसँगै उनलाई सोही दिन दिउँसो पक्राउ गरिएको हो।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा बिपनाले चार दिनअघि छोरीलाई जन्म दिएपछि पोल खुल्ने डरले गहुँबारीमा फालेको बयान दिएकी छन्। बिपनाका श्रीमान हाल विदेशमा रहेका छन्।
नवजात शिशुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बिजुवार पठाइएको छ। पोष्टमार्टम रिपोर्ट आएपछि शिशुको मृत्युको वास्तविक कारण खुल्ने प्रहरीले जनाएको छ। प्रहरीले यस घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
